काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देवेन्द्र सुवेदी विरुद्ध साइबर अपराधको आरोपमा उजुरी दर्ता गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिएको जानकारीअनुसार सुवेदीले सामाजिक सञ्जालमार्फत तथ्यहीन र भ्रमपूर्ण प्रचार गरिरहेका थिए ।
उनले प्रचण्डको निवासमा आगलागी हुनुअघि दुई दिनमै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भनी गलत जानकारी प्रवाह गरेको आरोप लगाइएको छ ।
सचिवालयका अनुसार, सुवेदीले यस्ता आधारहीन सामग्री सार्वजनिक गरी पार्टी नेतृत्वको चरित्रहत्या र जनमानसमा भ्रम फैलाउने गतिविधि सञ्चालन गरेका छन् । यस्तो कार्यले गम्भीर साइबर अपराधको स्वरूप लिएको भन्दै प्रचण्ड सचिवालयको तर्फबाट नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा हिजो औपचारिक उजुरी दर्ता गरिएको हो ।
उजुरीमा डिजिटल माध्यम प्रयोग गरी गरिएको गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको सचिवालयले जनाएको छ ।










