काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सिंहदरबार जल्दा खुसी हुनेहरू विदेशी राजदूतावासका परिचालित सिपाहीहरू भएको आरोप लगाएका छन् ।
जेनजी अगुवा रक्षा बमको तस्बिर सार्वजनिक भएको थियो जहाँ उनी सिंहदरबार जलिरहेको अवस्थामा पोज दिएकी थिइन् । उक्त सार्वजनिक तस्बिरबारे टिप्पणी गर्दै नेता शाहीले सिंहदरबार जल्दा खुसी हुनेहरू विदेशी राजदूतावासका परिचालित सिपाहीहरू भएको दाबी गरेका हुन् ।
सिंहदरबार भौतिक संरचना मात्र नभई नेपालीहरूको इतिहास भएको भन्दै भौतिक संरचना बनाउन सकेपनि आफ्नो इतिहास बनाउन नसक्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै शाहीले लेखेका छन्, “सिंहदरबार जलाउँदा खुसी हुने उनीहरू त विदेशी राजदूतावासका परिचालित सिपाही हुन् । सिंहदरबार भौतिक संरचना मात्र होइन, यो हाम्रो इतिहास हो । भौतिक संरचना बनाउन सकिन्छ, तर इतिहास बनाउन सकिँदैन।” उनले घटनामा संलग्न युवाहरूको हत्या भएको र सरकारले हत्यारालाई अहिलेसम्म पक्रन नसकेको भन्दै आक्रोश समेत पोखेका छन् ।
सिंहदरबारमा गत महिना भएको आगलागी र प्रदर्शनका क्रममा सरकारी भवनहरूमा क्षति पुगेको थियो । सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।










