काठमाडौँ । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइरहेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक भएको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार उक्त तस्बिर इजरायली रक्षा बल (आइडीएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो। इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ र विभिन्न सञ्चार संस्थाले जनाएअनुसार, यो तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो।
भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा विपिन अपहरणमा परेपछि करिब एक महिनाको अवस्थामै देखिएका छन्। यसअघि अपहरणकै दिन शिफा अस्पतालको सुरक्षा क्यामेरामा उनको दृश्य सार्वजनिक भएको थियो। त्यसयता उनको कुनै पनि तस्बिर बाहिर आएको थिएन।
नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवारजन र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।
कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिम क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनाइएका थिए।
आक्रमणका क्रममा विपिनले हमासका लडाकूले फालेको ग्रेनेड फिर्ता फालेर अन्यको ज्यान बचाएको विवरण पनि सार्वजनिक भएका थिए।
करीब दुई वर्षदेखि उनीबारे कुनै ठ्याक्कै जानकारी नआएपछि जोशी परिवारले निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा उनको सकुशल रिहाइका लागि अपिल गर्दै आएको छ।










