१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा

सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
अ अ+ अ-

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ ।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् ।

चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् । “हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो”, मङ्गलबार बनेपा आइपुग्नुभएका भिमखोरीका राजेन्द्र श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ । “महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ”, श्रेष्ठले भन्नुभयो । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपुर्‍याए खोलामा खस्नेसमेत डर भएको श्रेष्ठको भनाइ छ ।

उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ । स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्टे«चरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयले रोशी र नमोबद्धको समन्वयमा बगाएको राजमार्गको सडकखण्डमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । यसअघि गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गर्ने डिभिजनले योजना बनाएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा सडकको डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तै शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि आजैदेखि पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।