२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाले सर्लाहीको जनजीवन प्रभावित



अ+ अ-

बरहथवा, (सर्लाही) । अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा पानीको वहाव उच्च भएको छ भने बागमती नदीको बाढीलेसमेत जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चार गाउँ डुबानको जोखिममा पारेको छ । जिल्लामा सबै भन्दा धेरै लखन्देही खोलाले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । सो खोलामा आएको बाढीले चक्रघट्ट गाउँपालिका–१, पडरियामा २० कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने कौडेना गाउँपालिका–३, मा १५० मिटर हुलाकी सडक क्षति पुर्‍याएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–७, मा रहेको कलभट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध भएको छ ।

बाढी तथा डुबानका कारण जिल्लाको बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, मलङ्वा नगरपालिका, बलरा नगरपालिका, धन्कौल गाउँपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिवन नगरपालिका, गोडैता नगरपालिका र कबिलासी नगरपालिकामा स्थानीय प्रभावित भएका छन् । प्रहरी कार्यालयका अनुसार लखन्देही खोलाको बाढीले चक्रघट्ट गाउँपालिका–५, मा १८ घर स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारले नजिकै छिमेकीका बसेका छन् ।

यस्तै जिल्लाको बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई प्रहरीले उद्धार गरेको थियो । लखन्देही खोलाको पानीले मङ्गवा नगरपालिका–५, भाडसरका घरमा पानी पसेको थियो । यसैगरी मलङ्वा नगरपालिका–८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।

यसैबीच बलरा –१, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेको छ । वडा नं १ को छन्की टोलका ५० परिवार पानीमा घर डुबेपछि विस्थापित भएका हुन । सोही पालिकाको वडा नं ४ को सहनी टोला र मुस्लिम टोला डुबानमा परेको छ । घरहरू डुबानमा परे पनि स्थानीयलाई सुरक्षितसँग बागमती ड्याममा राखिएको छ ।

मनुस्मारा खोला र वर्षाको पानीले जिल्लाको धन्कौल गाउँपालिका–३, हरकठवा र वडा नं ४ महिनाथपुर जोखिममा परेको छ । खोलाको पानी जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने बाटो अवरुद्ध भएको छ ।

यस्तै बरहथवा नगरपालिकामा सोती खोला र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । यसैबीच जिल्लाको कौडेना गाउँपालिका–७, शिवनगर, वडा नं ३ कौडेना, वडा नं–५, पर्सा र छप्कैया, वडा नं–६, सक्रौलमा लखन्देही खोलाको बाढी पसेर ठूलो क्षति पुर्‍याएको छ । खोलेले बाँध कटान गर्दा शिवनगर गाउँमा पानी पसेको छ ।

उक्त स्थानबाट प्रहरीले १७ जना स्थानीयलाई उद्धारसमेत गरेको छ ।
वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका–२, पिपरियामा अन्दाजी ९ वर्षकी शिवानी सिंहको खुट्टाको हड्डी भाँच्चिएको छ । कविलासी–८, अघर्वा र वडा नं–४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरुमा पानी पसेको हो ।

गोडैता –८, प्रहरी चौकी गोडैता र चन्द्रनगर–५, स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ब्रह्मपुरी –४ स्थित झिम खोलामा आएको बाढीलाई ड्याम निर्माण गरेर रोकथाम गरिएको थियो । रासस