१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षपछि रिया चक्रवर्तीले आफ्नो राहदानी फिर्ता पाइन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई पाँच वर्षपछि उनको पासपोर्ट फिर्ता भएको छ । यो पासपोर्ट उनलाई हालै बम्बई उच्च अदालतले पक्षमा फैसला दिएपछि फिर्ता भएको हो । यो मुद्दा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणसँग जोडिएको थियो । सुशान्तसँग रिया सम्बन्धमा थिइन् ।

रिया चक्रवर्तीले शुक्रबार इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेकी छन्, जसमा उनी एयरपोर्टमा आफ्नो पासपोर्ट हातमा समातेको देखिन्छ ।

उनले लेखेकी छिन्, “पछिल्ला ५ वर्षमा धैर्य नै मेरो पासपोर्ट थियो । अनगिन्ती लडाइँ, अन्तहीन आशा । आज फेरि मेरो पासपोर्ट मेरो हातमा छ । अब म आफ्नो ‘च्याप्टर २’ का लागि तयार छु । सत्यमेव जयते ।”

सुशान्तको मृत्युपछि रियालाई हिरासतमा लिइएको थियो । २०२० सेप्टेम्बरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई ड्रग्स केसमा पक्राउ गरेको थियो । पासपोर्ट बुझाएपछि उनलाई जमानत मिलेको थियो ।

३० सेप्टेम्बरमा बम्बई उच्च अदालतले एनसीबीलाई अभिनेत्रीको पासपोर्ट फिर्ता गर्न आदेश दिएको थियो ।

वकिल अयाज खानमार्फत दायर निवेदनमा रियाले पासपोर्ट बुझाउनु परेकाले आफूले धेरै प्रोजेक्ट गुमाएको र करियरमा ढिलाइ भएको तर्क गरेकी थिइन् ।

मामिलामा रियाका वकिलले अभिनेत्रीले जमानतका सबै सर्तको पालना गरेको र कहिल्यै अदालतको आदेश उल्लङ्घन नगरेको बताएका थिए ।

रिया पक्षबाट भनिएको थियो कि आफ्नो पेशागत कारणले गर्दा उनलाई प्रायः विदेश यात्रा गरेर सुटिङ, अडिसन र मिटिङमा जानुपर्ने हुन्छ । तर एनसीबीले वकिल एस।के। हलवासियामार्फत निवेदनको विरोध गर्दै सेलिब्रिटी भएको कारण विशेष सुविधा दिन नहुने र फरार हुने सम्भावना रहन्छ भन्ने चेतावनी दिएको थियो ।

तर न्यायाधीश नीला गोखलेले यसअघि पनि अन्य आरोपीलाई यस्तै सुविधा दिइएको स्मरण गराउँदै रियाले ट्रायलमा सहयोग गरेको, विदेश गएर सधैं फर्किएको र जमानतका सर्त उल्लङ्घन नगरेको बताइन्। अदालतले मुद्दा टुंगिने बेलासम्म उनको उपलब्धतामाथि शंका गर्ने कुनै कारण नभएको ठहर गरेको थियो ।

उनको निवेदन स्वीकार गर्दै अदालतले भनेको थियो कि रियाले हरेक सुनुवाइमा उपस्थित हुनुपर्नेछ, जबसम्म तल्लो अदालतले छुट दिएको छैन । उनले विदेश यात्रा गर्नुभन्दा कम्तिमा चार दिन अगाडि आफ्नो पूर्ण यात्रा विवरण, होटल र उडान विवरण अभियोजन एजेन्सीलाई उपलब्ध गराउनु पर्नेछ । उनले आफ्नो सम्पर्क नम्बर साझा गर्नुपर्नेछ, आफ्नो फोन सक्रिय राख्नुपर्नेछ र फर्किएपछि अधिकारीहरूलाई सूचित गर्नुपर्नेछ ।