काठमाडौँ । इलाममा गएको राति परेको लगातार वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या २१ पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । अझै केही व्यक्ति हराइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
माङ्सेबुङ गाउँपालिका क्षेत्रमा पहिरोमा फसेकी एक गर्भवती महिलाको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुनिता नेपालले बताइन् ।
पहिरोका कारण मेची राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका कारण घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउन कठिनाइ भएको र त्यसैले हेलिकप्टर तैनाथ गरिएको हो ।
सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ । पहिरोले दर्जनौँ घर पुरिएका छन् भने स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासी परिचालित छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले उद्धारमा थप चुनौती थपिएको छ ।










