१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको रणनीति : नेतृत्वबाट हट्ने कि विरोधीलाई किनारा लगाउने ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको बहस चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । योसँगै माओवादीभित्रको राजनीति कता बढ्छ भन्ने स्पष्ट भएको छैन ।

काठमाडौं जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष दाहालको प्रस्तावमा असहमति जनाएका छन् ।

विभिन्न १० वटा समूह बनाएर छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा अध्यक्ष दाहालले सबै कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्व हस्तान्तरण गरी आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् ।

तर उपमहासचिव शर्माले वर्तमान पदाधिकारी फेरि नआउने गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । उनले अहिले पदाधिकारी तहमा रहेका कोही पनि व्यक्ति फेरी नेतृत्वमा नआउने गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । जुन प्रुस्तावहरुमाथि केन्द्रीय समिति बैठक समूहगत छलफल भइरहेको छ ।

दाहालले भने आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने, पार्टी कमिटीमा जेनजी र युवा पुस्ताको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउने बताएका छन् ।

दाहाले तत्काल नेतृत्व छाड्ने पक्षमा छैनन् । मंसिरमा महाधिवेशन गर्ने र त्यसबेलासम्म आफू संयोजक रहेर पार्टी चलाउने उनले सुनाइसकेका छन् । तर अरु सबै नेतालाई सदस्यको हैसियतमा पुर्‍याउँदै आफूलाई थप मजबुद बनाउने उनको रणनीति छ ।

महाधिवेशनमा पनि उनले आफूले नेतृत्व छाड्ने भनेर स्पष्ट पारेका छैनन् । बरु आफ्ना आलोचकहरुलाई सिध्याएर महाधिवेशनबाटै फेरि नेतृत्वमा पुग्ने उनको रणनीति देखिएको छ ।

दाहाललले आफू निकट नेताहरुसँग पनि आगामी नेतृत्वका विषयमा छलफल गरिसकेका छन् । नेताहरुले दाहालको विकल्प नभएको भन्दै नेतृत्व नछाड्न सुझाव दिएका छन् । बरु वामपन्थी दलहरुसँग एकताको हौवा फिँजाएर उनले नेतृत्वमा बसिरहन खोजेको देखिन्छ ।

माओवादी केन्द्रले विशेष गरी समाजवादी मोर्चामा रहेका दलहरुसँग एकताको प्रयास गरिरहेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वका नेकपासँग एकता गर्न दाहालले पटकपटक वार्ता गरिसकेका छन् ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी एकता गराउन सके आफू फेरि नेतृत्वमा बस्न पाउने चाहना दाहालको छ । त्यही अनुसार उनले नेताहरुलाई पनि आफ्नो पक्षमा लविइङ सुरु गराएका छन् । त्यति मात्र होइन, तल्लो तहका कार्यकर्ता तहबाट पनि उनले आफ्नो पक्षमा माहोल सिर्जना गराइरहेका छन् ।

पछिल्लो समय अध्यक्ष दाहालले जेन–जीका माग आफूहरुले नै उठाउँदै आएको भन्दै त्यसको समेत जस लिन खोजिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशमा अहिलेको परिस्थिति सिर्जना भएको दोष लगाउँदै उनले आफू पानीमाथिको ओभानो बन्न खोजेका छन् । तर जेन–जीले राजनीतिक दलका शीर्ष नेताहरु बाहिरिनुपर्ने अन्यथा बढारिनुपर्ने चेतावनी दिँदै आएका छन् ।

नेपाली राजनीतिका चतुर खेलाडी दाहाल अब आफ्नो रणनीतिमा कसरी अघि बढ्छन् र उनले आफ्ना विरोधीहरुलाई कसरी तह लगाउँछन् त्यो भने आगामी मंसिरमा हुने महाधिवेशनसम्म कुर्नैपर्ने छ ।