काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उहाँले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरुले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले जेन—जी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि जेन—जीका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘जेनजी पुस्ताको आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि हमला भयो, धावा बोलियो र देशलाई नै तहसनहस बनाउने काम भयो यो प्रति दुःख व्यक्त गर्न चाहन्छु । यो घटनाको बारेमा निष्पक्ष छानविन गरेर त्यसमा रहेका दोषिहरुलाई कडाभन्दा कडा कारबाही गर्ने र देशले न्याय पाउने परिस्थिति निर्माण होस् भन्ने म अपेक्षा पनि गर्दछु । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु नै मुख्य कुरा हो र यी सबै जनताका मुद्दाहरुको नेतृत्व गर्ने र ज नतामार्फत निर्वाचित भएर आएकाहरुले देशको नेतृत्व गर्ने हाम्रो प्रणाली हो ।
यसको लागि नेकपा एमाले र अन्य दलहरुले गम्भीरतापूर्वक समिक्षा गरेर दलहरुमा कुनै कमि रहेको छ भने सच्याएर जाने प्रतिवद्धता गर्ने, राज्य प्रणालीको तर्फबाट भएका कमिको पहिचान गरेर दोहोरिन नदिने र देशको सर्वोपरी हितको लागि सबे प्रतिवद्ध भएर भो लिको दिनमा हामी लोकतन्त्रलाई फेरि हामी बलियो बनाउन चाहन्छौं । जेनजी पुस्ताका मागका सम्बन्धमा जेन—जीका प्रतिनिधिहरुलाई पार्टी कार्यालयमा बोलाएर उहाँहरुको कुरा सुन्ने र जेन—जी पुस्ताका मागहरुलाई सम्बोधन गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्ने आवश्यकता आजको दिनमा देखापरेको छ ।’
उहाँले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।










