काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले आज प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी देशको हालको राजनीतिक र सुरक्षा परिस्थितिबारे छलफल गरेका छन् ।
आयोगले नेपाली सेनाको संरक्षकत्वमा रहेका व्यक्तिहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिँदै आएको छ ।
यस क्रममा, आयोगका टोलीहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, मृतकका परिवार, घटनाका घाइते तथा अन्य प्रभावितहरूसँग नियमित अनुगमन र संवाद गर्दै आएको जनाएको छ ।
भेटमा दुवै पक्षबीच हालको संवेदनशील परिस्थिति, शान्ति–सुरक्षा र सेनाको संरक्षकत्वमा रहेका व्यक्तिहरूको अवस्थाबारे विस्तृत विचार–विमर्श भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सेनाले शान्ति, सुरक्षा, मानव अधिकार र विधिको शासनलाई प्रवर्द्धन गर्दै लोकतान्त्रिक मूल्य र अधिकारको सम्मान गर्दै अघि बढ्ने विश्वास आयोगले व्यक्त गरेको जानकारी दिए ।











