एजेन्सी । चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजहरूले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ । यसरी गरिएको संरक्षण प्रक्रिया इजिप्टका ममीहरू भन्दा हजारौँ वर्ष अघिदेखि प्रभावकारी रूपमा प्रयोग भएको पत्ता लागेको हो ।
प्राचीन इजिप्टका पट्टीले बेरेका शवहरू करिब चार हजार पाँच सय वर्ष पुराना भए पनि ममीकरणको अघिल्लो प्राचीन उदाहरणहरू चिलीका अटाकामा तटवर्ती समाजबाट आएका थिए । त्यहाँ सुक्खा हावाले शवहरू स्वाभाविक रूपमा सुकाउने गथ्र्यो ।
तर चीन, भियतनाम, फिलिपिन्स, लाओस, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाजस्ता आद्र्र क्षेत्रका चिहानमा भेटिएका शवहरूमा अनुसन्धानकर्ताले असामान्य विकृति देखे । अवशेषहरूमा जलेका निशान भेटिए पनि दाहसंस्कारसँग मेल खाँदैनथे । शवहरूमा नरम तन्तु हराइसकेको देखिनु, वास्तवमा धुवाँले सुकाइएका ममीहरूको परिणाम हुन सक्ने निष्कर्षमा उनीहरू पुगे ।
वैज्ञानिकहरूले जापानका प्राचीन स्थलहरूका नमूनासँग तुलना गर्दा, हड्डीमा कम तापक्रमको असर भेटियो, जसले शव दाहसंस्कार नभई संरक्षण गर्ने उद्देश्य प्रष्ट ग¥यो । केही नमूना १० हजार वर्षभन्दा पुराना थिए, जसले ममीकरण अभ्यास पहिले सोचिएभन्दा हजारौँ वर्ष अघिदेखि प्रचलनमा रहेको देखायो ।
“यो ठूलो आश्चर्य थियो”, अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ अनुसन्धानकर्ता सियाओ–चुन हङले भन्नुभयो, “यति पुराना हड्डीमा यस्तो परम्पराको प्रमाण भेटिनु उल्लेखनीय छ । यसले प्राचीन मानिसहरूको अभ्यासलाई आजसम्म जीवित केही संस्कृतिसँग जोड्छ ।”
अनुसन्धानकर्ताले धुवाँ उष्णकटिबन्धीय जलवायुमै शव संरक्षणको सबैभन्दा प्रभावकारी विधि भएको मात्र नभई, सांस्कृतिक महत्त्वसमेत भएको निष्कर्ष निकाले । इन्डोनेसिया र अस्ट्रेलियाका समाजहरूमा अझै पनि शवलाई बाँधेर निरन्तर जलिरहेको आगोमाथि महिनौँसम्म राख्ने चलन छ ।
यसले आफन्तलाई मृतकसँग निरन्तर सम्पर्कमा राख्ने मात्र नभई, आत्मा दिनमा स्वतन्त्र रूपमा घुम्ने र रातमा शरीरमा फर्कने विश्वास पनि दिलाउँथ्यो ।
“मलाई लाग्छ, यसले गहिरो मानवीय भाव व्यक्त गर्छ—हाम्रा प्रियजनहरू सधैँ हाम्रो साथमै रहने कालातीत इच्छा”, हङले एएफपीसँग भन्नुभयो ।
अनुसन्धानकर्ताले यो अभ्यास प्राचीन एसियाली सभ्यतामा व्यापक हुन सक्ने अनुमान गरेका छन् । प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा सोमबार प्रकाशित अध्ययनमा उनीहरूले लेखेका छन्, “यो परम्परा विशाल क्षेत्रका सिकार–सङ्कलक समाजहरूमा धेरै सहस्राब्दीदेखि परिचित हुन सक्ने सङ्केत गर्छ ।”










