काठमाडौँ । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली साहित्य र भाषाप्रति युवापुस्ताको चासो घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रवार काठाडौंमा आयोजित ‘बदलिदोँ समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।
आजभोलिका केटाकेटीहरु अंग्रेजी अक्षर सिक्ने तर आफ्नै नेपाली वर्णमाला र साहित्यप्रति आकर्षण नदेखाउने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । उहाँले नेपाली भाषाको प्रवद्र्धन र संरक्षणमा ध्यान नदिए नेपाली साहित्य नै समाप्त हुने चिन्ता आफूलाई रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री चन्दले सिर्जनात्मक लेखन र पाठन संस्कृतिलाई प्रवद्र्धन गर्न आधुनिक माध्यमहरूलाई पनि उपयोग गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कतै यो नेपाली साहित्य सिद्धिने क्रममा त छैन कि ? भन्ने कुनैबेला मलाई चिन्ता हुन्छ । आजभोलिका केटाकेटीहरुले बरु अंग्रेजी ए, बि, सी, डि पढ्छन् । क, ख पढ्दैनन् । एक जनाले रचना राम्रो भए मोबाइलमा पठाइदिए पनि हुन्छ नि भन्नुभयो । तर एक प्यारा पढ्न नसक्ने मान्छेले किताब पढ्ने कुरा आउदैन । त्यसको लागि के गर्नुपर्छ ? हामी नेपाली भाषीहरुले र नेपाली साहित्यप्रति आस्था भएका नागरिकहरुले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता मैले महसुश गरिराखेको छु । र म विश्वस्त छु कि यहाँहरुले पनि त्यसमा सहयोग गर्नुहुनेछ ।’
उहाँले नेपाली साहित्य र भाषा संरक्षणका लागि सबैले आफ्नो तहबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताउनु भयो ।










