२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल



Oplus_16908288
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोगगरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।”

उहाँले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताउनुभयो ।

नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।”

राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गर्नुभयो ।