१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाको प्राइमरी इलेक्सनमा १५९४ मत खस्यो, को बन्ला उम्मेदवार ?



अ+ अ-

काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चयन गर्न गरेको प्रारम्भिक निर्वाचनमा १५९४ मत खसेको छ । रुपन्देही–३ का लागि रास्वपामा ९ जना आकांक्षी छन् ।

९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले प्राइमरी इलेक्सन सुरु गरेको थियो । बिहीबार बिहान ७ बजेबाट शुक्रबार साँझ ७ बजेसम्म भएको अनलाइन भोटिङमा केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको छ ।

यसैगरी ६२ जना केन्द्रीय समिति सदस्यहरू मध्येबाट २७ मत खसेको छ । पार्टीको निर्वाचन आयोगले खसेको मतमध्ये कति सदर भए त्यसको परीक्षण गरेर पार्टीलाई जानकारी दिने छ ।

प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत मोबाइलबाटै अनलाइन भोटिङ गर्न सकिने व्यवस्था रहेको थियो । उम्मेदवार छनोट विधिअन्तर्गत प्राइमरी इलेक्सनमा पाउने मतको अंक भार सबैभन्दा धेरै ५० रहेकाले यसलाई आकांक्षीहरूले महत्वका साथ हेरेका छन् ।

पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए । जसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही ३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।

प्राइमरी इलेक्सनमा धेरै अन्तरले बढी भोट पाउने आकांक्षी नै उम्मेदवार बन्न सक्छ ।

यसअघि पार्टीले २० अंक भार रहेको पोलिटिकल प्रोक्सिमिटी र २५ अंकभार रहेको लिडरसिप एकेडेमीको लागि आकांक्षीहरूबीच विभिन्न गतिविधि गराएर मूल्याङ्कन गरिसकेको छ । १०० अंकमध्ये ५ अंक समावेशितालाई छुट्याइएको छ । यो अंक महिला, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक र पछाडि पारिएको समुदायका आकांक्षीले मात्र पाउँछन् ।

रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यतले मतदान गरेका हुन् ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहनेछ ।

भोलि प्राइमरी इलेक्सनको नतिजा, यसअघि सम्पन्न पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको मूल्यांकनबाट प्राप्त अंक र समावेशिताको अंक कम्पाइल गरी भदौ १५ गते सबैभन्दा बढी अंक पाउने एकजनालाई उम्मेदवार घोषणा गरिने रास्वपाले जनाएको छ ।