एक वर्षमा जम्मा १२ वटा औँशी हुन्छन् । प्रत्येक औँशीका आफ्नो धार्मिक महत्व, आध्यात्मिक अर्थ र खगोलीय प्रभाव हुन्छन् । भाद्रकृष्ण औँशीलाई कुशेऔँशीका नामले चिनिन्छ । औँशी तिथिका स्वामी पितृ हुन् । यसकारण पितृलाई औँशीका दिनमा जल चढाउने, दक्षिण फर्काएर बत्ती बालिदिने, श्राद्ध गर्ने, पितृका नाममा सेवा गराउने कार्यले सन्ततिलाई आशीर्वाद मिल्छ ।
सूर्य ग्रह कमजोर भएका, सूर्यग्रहणमा जन्मिएका वा ग्रहण योग परेकालाई पितृसेवा र बुबाको सुश्रुसा महौषधि हुन्छ । सूर्य ग्रह मुटु, हड्डी, दाहिने आँखा, बुबा आदिको कारक मानिन्छ । औँशीतिथि यसकारण पितृ वा पितासँग सम्बन्ध कार्यका लागि महनीय अवसर मानिन्छ । रोकिएका श्राद्धहरु कुशेऔँशीका दिनमा गर्ने परम्परा आदिमकालदेखि रहीआएको छ ।
बुबाले जन्ममात्र दिनुभएन गोत्र, थरसहित सन्तानका लागि जीवन समर्पण गरेको हुन्छ । बुबाआमाको योगदानलाई अहिले वृद्धाश्रमले चिनेको छ, विदेशिएका सन्ततिको प्रेमलाई एक्लै बसेका बुबाआमाको मनले बुझेको छ ।
देवऋण, पितृऋण, गुरुऋणलाई मात्र होइन मातृभूमिकै ऋणलाई बिर्सन बाध्य भएका सन्ततिको अगाडि कुशेऔँशीले कसरी अनुहार देखाइरहेका छ, सञ्चारका माध्यमले लोकाचार कसरी पुरा गरेका छन् भन्ने तथ्यलाई बुझ्न धेरै मिहिनेत गर्नुपर्दैन । जीते वापको रोटी नदेवै काक बाप बनै हो अर्थात् जिउँदो हुँदासम्म सोधखोज छैन मरेपछि पिण्ड दिनुको लोकाचारले औँशीमा होइन कुशेऔँशीको अर्थ र महिमालाई जीवन्त राख्न सक्दैन ।
भदौँ पाँचौँ महिना हो, राशिगत दृष्टिले सिंह पर्छ भाद्र महिना । सिंह राशिमा सूर्य स्वगृही मानिन्छन् । यसैको औँशीमा गरिएका पितृकर्मले पितृगण खुसी हुन्छन् र पितृदोष लगायतका कुप्रभावलाई हटाउन सहयोग दिन्छन् । बुबाखुवाउने (कुशेऔँशी)मा विधिपूर्वक घरमा कुश ल्याइन्छ । कुशको सम्बन्ध बुबा अर्थात् शरीरको हाडसँग रहन्छ । शरीरको मासु भागलाई आमा र हड्डी भागलाई बुबासँग सम्बन्ध रहेको बताउँछन् ।
जीवनमा बुबाको जति ठूलो भूमिका हुन्छ कुशको पनि धार्मिक अनुष्ठानमा उस्तै मानिन्छ । कुशले धर्मको गतिलाई मात्र साथ दिँदैन एक औषधीय वनस्पतिको जिम्मेवारीसमेत निभाउँछ । ऋषिमुनिहरूले रोगीको अवस्था, रोगको प्रकृतिअनुसार दुई प्रकारका औषधिहरू प्रयोग गर्दथे । एक आपत्कालिक (तत्काल), अर्को बिस्तारै निको गराउने । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायुष्षे अर्थात्, “कुश तत्काल फल दिने औषधि हो, जसलाई आयु वृद्धि गर्न लगाइन्छ ।” मानवजीवन र कुशबीच अन्योन्याश्रित सम्बन्ध छ ।
कुशको फरक नाम र भिन्न काम छन्– फूल नफूलेको कुशलाई दर्भ, फूल फूलेपछि कुश, जरासहितको भागलाई कुतप, अगाडिको भाग काटेमा तृण भनिन्छ । जो फेरि पलाउँदैन त्यसलाई दर्भ र पुन: पलाउन सक्नेलाई कुश भनिन्छ । विशिष्ट व्यक्तिलाई आसन गराउँदा कुशासन दिइन्थ्यो भन्ने तथ्यलाई ऋग्वेद (३।९।९)मा तीन हजार तीन सय उनन्चालीस देवताहरूले अग्निलाई कुशासन दिएबाट बुझिन्छ ।
कुशलाई भगवान्को रौँबाट उत्पन्न भएको मानिन्छ–मम रोम समुद्भूता दर्भा: पुष्टिकरा मता: अर्थात् कुश मेरै राँैबाट उत्पन्न भएको हो, यो पौष्टिक छ । देव कार्य, पितृ कार्य, रोग निराकरण, ग्रह शान्तिका लागि कुशको प्रयोग गरिन्छ । देवकार्य, पितृकार्य आदिमा दाहिने हातमा सुन, चाँदी वा कुशको औँठी हुन आवश्यक हुन्छ ।
विशेष प्रकारका धातु र वनस्पतिले वातावरणमा रहेका दैवी र सकरात्मक शक्तिलाई तानेर शरीरमा प्रवाह गराउँछन् । अचानक सूक्ष्मरूपले भाइरसबाट हुने शारीरिक र मानसिक आक्रमणलाई कुशले रोक्छन् ।
कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्ने तागत प्राप्त हुन्छ । एकपटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई कुशाग्र बुद्धि मानिन्छ । कुशको अग्रभाग तीखो हुन्छ अर्थात् कुशजस्तो पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वस्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ । दूधमा कुश राखेर तताए फाट्दैन । भगवान् विष्णुले भन्नुभएको छ–
दर्भा विभूतिर्मे ताक्ष्र्य मम रोमसमुद्भव: ।
अतस्तत् स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवा: ।।
कुशमूले स्थितो ब्रम्हा कुशमध्ये जनार्दन: ।
कुशाग्रे शंकरो देवास्त्रयो देवा: कुशे स्थिता: ।।
–गरुडपुराण (९।१२–१३)
अर्थात्, “कुश मेरा रौँ हुन् । यसलाई दैनिक छुनाले पवित्र भई स्वर्ग प्राप्ति हुन्छ । कुशको जरामा ब्रम्ह, काण्डमा विष्णु, टुप्पोमा महादेवसहित तीन देवता बस्दछौँ ।” कुशमा जगत्का उत्पत्तिकर्ता, पालनकर्ता र संहारकर्ताको निबास भएकाले यसलाई परम पवित्र र शक्तिमान् मानिएको हो ।
महाभारतअनुसार गरुडले सर्पहरूबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरूलाई दिए । अमृत खानुभन्दा पहिले सर्पहरू नुहाउन गए, आउँदा अमृत देखेनन् । कुशमा अमृत पोखिएको अनुमानले चाटे । कुशको धारले जिभ्रो काटेको हुनाले त्यतिबेलादेखि सर्पको जिभ्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम हुन गयो । कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ र अमृतको दर्शन मिल्छ ।
कुशको टोपी बनाएर लगाउने, बाला पहिरने, औँठी लगाउने कार्यले शरीरलाई बहुआयामिक फाइदा दिन्छ । कुशलाई पुज्नेमात्र होइन बुझ्ने र वैज्ञानिक रुपमा प्रयोग गर्ने कार्यमा हामी लाग्नुपर्छ । कुश विद्युतको कुचालक भएकाले चट्याङ पर्न दिँदैन । यसकारण घरका छानामा कुश राख्ने चलन छ । कुशले रिसलाई नियन्त्रण गर्दछ, शत्रुको रिसबाट बचाउँछ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिएर पिउनलायक हुन्छ ।
नास्य केशान्प्रवपन्ति नोरसि ताडमाघ्नते ।
यस्मा अछिन्नपर्णेन दर्भेण शर्म यच्छति ।।
–अथर्ववेद(१९।३२।२)
अर्थात्, “जो नित्य कुश लगाउँछ, उसको कपाल झर्दैन, न त छाति दु:ख्दछ ।” अत्यन्तोपयोगी झार भएकाले कुशलाई औषधि, गहना, सुरक्षाकवच आदिका रूपमा उपयोग गर्दछन् । एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुश लगाउँदा प्राप्त हुन्छ । विभिन्न किटाणु र व्याक्टेरिया मार्ने हुँदा यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्कनुपर्छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागोको जनै लगाइन्छ ।
तीजको व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने गर्दछन् । कुश कहिल्यै बासी हुँदैन । आर्यवर्तका हरेक वर्ण, जाति र लिड्डका मानिसहरूले लगाएर भौतिक र आध्यात्मिक फाइदा लिनुपर्छ । विनाकुशको धार्मिक अनुष्ठान्, जल स्पर्शविनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप संख्या सबै निष्फल हुन्छन् ।
कुशपानीले छर्किएको यज्ञस्थल शुद्ध, आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिकरूपले ऊर्जाशील हुन्छन् । त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायतका कार्य गर्दा दुबै हातमा कुशको पवित्र (औँठी) धारण गर्नुपर्छ । कुशलाई बाह्र घण्टा पानीमा भिजाएर पिउँदा पिसाब सम्बन्धी समस्या आउँदैन । कुशको पर्दा लगाउँदा हानिकारक किटाणु पस्न सक्दैन । यसैले प्राचीन कालदेखि घरनजिकै कुश रोपिन्थ्यो ।
कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यत:
द्विगुणीकृत्य मूलाग्रै: पितृन् संतर्पयेद्द्विज: ।।
अर्थात्, “देवतालाई कुशको अग्रभाग (अगाडि)बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।” एकाक्षरीकोशअनुसार ‘‘क’को अर्थ पृथ्वी, ‘श’ को अर्थ सुत्नुहुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ । कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति, पवित्र बनाउने ऊर्जा छ । कुशलाई आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका लागि अत्यन्त उपयोगी र पवित्रतम मानिएको हुनाले लगाउन र घरमा राख्न आवश्यक छ ।
औँशीले अँध्यारो, अप्ठेरो, सघर्ष आदिलाई बुझाउँछ । यस्तो पक्षबाट जीवनलाई उज्यालो, सजिलो र सृजनशील बनाउन बुबाको आशीर्वाद, मार्गदर्शन र साथ चाहिन्छ । पितृऋणबाट उऋण हुन बुबालाई जीवनभरी साथ दिने र मृत्युपछि श्राद्ध गर्नुपर्छ ।
बुबाका आशीर्वाद पाउनेहरु मानदेवजस्ता शासक बन्छन्, बुबाका साथमा रहनेहरु श्रवणकुमार पुत्र हुन्छन्, बुबाको संकेतअनुसार हिँड्नेहरु पृथ्वीनारायणजस्तै राष्ट्रनिर्माता रुपमा चिनिन्छन् । मातृदेव भव, पितृदेव भवका सिद्धान्तलाई कथनीमा होइन करणीमा उतार्नेहरुले नै बुबाको इतिहास र कुशेऔँशीको महत्वलाई जीवन्त राख्न सक्छन् ।










