काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिका भ्रमणमा छिन् ।
उपसभामुख रानाको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । व्यक्तिगत भ्रमणमा गएकी उनको यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउनको लागि नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
उपसभामुख रानाले आफूसहित पाँचजनालाई अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसमा उनले आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।









