काठमाडौं । टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको खेलमा नेपाल एनटीसँग ४२ रनले हारेको हो ।
जितकोे लागि १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । गुल्शन झाले २६ रन बनउदा कप्तान रोहित पौडेलले २३ रन बनाए ।
एनटीका लागि म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २/२ तथा हामिश मार्टिनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । एनटीका लागि कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । शाहब आलमले २ विकेट तथा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १/१ विकेट लिए ।
नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।










