१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटमा शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भई बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

ठाकुरले हड्डी र खरानी खरिद गर्ने गरेको र यादवले उक्त कार्यमा सहयोग गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीलेठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु समेत बरामद गरेको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएको थियो ।

साउन २३ गते पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेर बेचेको आरोप उनीहरूमाथि छ । उनीहरुलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।