काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदले पहल नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले सरकारको भिजिट सिभा प्रकरणको छानविन रोक्ने सरकारको नियतलाई सघाउने काम संसदबाट समेत भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उहाँले उक्त प्रकरणको स्वतन्त्र छानविनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलहरुले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीहरुको संलग्नतामा संगठित असुलि गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनेै न कुनै रुपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानविन गर्ने कुरामा यो सदनले कुनैपनि पहल नगर्नु दुःखद् विषय बनेको छ ।’
उहाँले सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाउनु भयो । भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै बाहिरिएका छन् ।









