१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुंगो लाग्यो एमाले बिधान महाधिवेशनको एजेण्डा



अ+ अ-

काठमाडौं: नेकपा एमालेले बिधान महाधिवेशनमा चार मुख्य एजेण्डामा छलफल हुने टुंगो लगाएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुन गइरहेको बिधान महाधिवेशनका लागि चार एजेण्डा तय भएको हो ।

एमाले महासचिव शंकर पोखरेलले बिधान महाधिवेशन नीति निर्माण र बिधि स्थापित गर्ने गरी चार एजेण्डा तय भएको जानकारी दिनुभयो बिधान महाधिवेशनको तयारी र प्रचार योजनाका सन्दर्भमा केन्द्रीय प्रचार बिभागले मंगलवार आयोजना गरेको बैठकमा बोल्दै महासचिव पोखरेलले मुलत बिधि र पद्धती स्थापित गर्दै पार्टीलाई एक लयमा हिडाउने गरी योजना बनाइएको बताउनु भयो ।

महासचिव पोखरेलका अनुसार बिधान महाधिवेशनमा चार वटा एजेण्डा छन । जसमा राजनीतिक प्रतिवेदन, साँगठानिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछन । यस्तै महाधिवेशनले समसामयिक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।

‘बिधान महाधिवेशनले अव हामी कसरी अघि बढने भन्ने पार्टीको नीति र बिधि बनाउँछ । राजनीतिक प्रतिवेदन र संगठन कसरी जान्छ भन्ने निर्धारणसहित संगठनात्मक प्रस्तावलाई पारित गर्छ । हामी आफूलाई कसरी सञ्चालन गर्छाैं भन्ने कुरा निर्धारण गरी बिधि निर्माण गर्छौं र केन्द्रीय निकायको प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गर्छाैं,’ बिधान महाधिवेशनको एजेण्डाबारे महासचिव पोखरेलले भन्नुभयो ।

यी हुन चार एजेण्डा

महाधिवेशनमा प्रस्तुत गर्ने बिधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि देशभर पठाएको छ । प्राप्त सुझावका आधारमा संयोजक उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ ।

यस्तै महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले साँगठानिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बा र सल्लाहकार परिषद सभापति अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ । एमाले बिधानमा केन्द्रीय निकायका रुपमा यिनै तीन आयोग र सल्लाहकार परिषद रहेको छ ।

प्रचार कार्ययोजना बनाउन कार्यदल गठन

एमालेको बिधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । त्यस्को तयारीका लागि एमालेले बिभिन्न उपसमिति बनाइसकेको छ । प्रचारका लागि केन्द्रीय प्रचार बिभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ ।

समितिमा बिभाग र प्रेस चौतारीका पदाधिकारीसहित नेकपा एमाले बागमति प्रदेश, जिफन्ट, युवा संघ, अनेरास्वबियु र नेपाल बौद्धिक परिषदका प्रचार बिभाग प्रमुख सदस्य रहेका छन । उपसमिति प्रमुख गौतमले प्रचारको काम अघि बढिसकेको भन्दै तीन दिनभित्र स्पष्ट कार्ययोजना पेश गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो ।

प्रमुख गौतमका अनुसार कार्यदलमा केन्द्रीय प्रचार बिभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, बिश्वमणि सुवेदी र जिफन्टका प्रचार बिभाग प्रमुख महेन्द्र श्रेष्ठ हुनुहुन्छ । कार्यदलले सम्मेलन स्थलमा मिडिया ब्यवस्थापनदेखि प्रचारका अन्य योजनाबारे सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।