२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा तेक्वान्दो टोली मलेसिया जाँदै



अ+ अ-

काठमाडौँ। दशौँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मलेसियाको सरावक जाने भएको छ ।

यही जुलाई २४ देखि सुरु भएको उक्त प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।

पाँचै खेलाडीले ‘के ४४ क्याटगोरी’अन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी कास्य विजेता पलेशा गोवर्द्धन तथा ४७ केजीमुनि कामना प्रसाईँ र रेणु तामाङले खेल्ने छन् । कामना र रेणुको यो ‘डेब्यु’ अन्तरराष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको साङ्घाइमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने जनाइएको छ ।

टोलीको व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रूपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ । यो अवधिमा एक रजत र पाँच कास्य गरी छ पदक जितेको छ । रञ्जना धामीले रजत र कास्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कास्य प्राप्त गरेका छन् ।

प्रतियोगितामा ४५ राष्ट्रका १५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जानकारी दिनुभयो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’ का रूपमा स्थापित भइसकेको धारणा राख्दै अन्तरराष्ट्रिय मञ्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई टोलीले निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताउनुभयो ।

प्रशिक्षक लामाले वरियता सुधारका लागि प्रतियोगिता महत्त्वपूर्ण भएको र यसमा सफल भए ओलम्पिकमा सहभागिता सहज हुने बताउनुभयो । नेपाली टोली भोलि मलेसिया प्रस्थान गर्नेछ ।