काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका–७ स्थित बुरुङचुलीमा बुद्धचित्तको माला लुट्ने क्रममा एक समूहले रुखधनीमाथि खुकुरी प्रहार गरेका छन्।
घटनामा स्थानीय ५७ वर्षीय कृष्णबहादुर मार्फा घाइते भएका छन्। रातको करिब सवा २ बजे घर अगाडिको रुखमा झुण्ड्याइएको माला लुट्न आएका लुटेराहरूलाई कुकुरले देखेपछि मार्फा बाहिर निस्किएका थिए। त्यत्तिकैमा लुटेराहरूले उनलाई दायाँ पाखुरामा खुकुरी प्रहार गरेका थिए।
घाइते मार्फाको आनन्दवन अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ। घटनापछि अनुसन्धान थालेको प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा करिब ३ घण्टामै तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीका प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन्। उनीहरूले सिसिटिभीको तार काटेर माला लुटपाट गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने पक्राउ परेकामाथि डाँकाचोरी मुद्दामा प्रहरी वृत्त चापागाउँले कानुनी प्रक्रिया अघि बढाएको छ।










