काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिनुभएको हो । रास्वपा सरकारमा जाँदा समेत काँग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको उहाँको आरोप छ । उहाँले रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको बताउनु भयो । उहाँले रास्वपाले थालेको हस्ताक्षर अभियान समेत गैरकानूनी रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा । अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौं । यो प्रतिशोधको भाषा थियो । त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन । देशलाई अहिले बद्लाको होइन दिशा र दृष्टिकोणको खाँचो छ । र यो हामीबाट अनुशरण गर्नुपर्छ ।’
देशलाई बदला नभई स्पष्ट दिशा र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सांसद बजगाईंले सबै दलले लोकतान्त्रिक अभ्यासमा रहनुपर्नेमा जोड दिनुभयो ।









