चितवन । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत्त कैलालीका एक पुरुषको मृत्यु भएको हो ।
शनिबार विहान ९ बजे कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।
शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।
असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनी फोक्सोको क्यान्सरका विरामी भएकाले असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ ।
चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।