३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनबाट उत्पन्न हुने विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ।

घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ को सफलताको शुभकामना दिँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् आउन नदिन पूर्वतयारी र वैज्ञानिक आधारमा पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको हो।

महानगरपालिकाले घरपझोङ गाउँपालिकालाई पठाएको शुभकामना पत्रमा हालै भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई समेत दृष्टिगत गर्दै आगामी दिनमा बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि तथा महामारीजस्ता विपद्को जोखिम घटाउने पूर्वाधार निर्माणमा लगानी बढाउन अपरिहार्य रहेको उल्लेख गरेको छ।

डंगोलले जलवायु परिवर्तनका कारण प्रकृति, जीवजन्तु तथा वनस्पतिको प्रणाली र मानिसको जीवनशैलीमा समेत व्यापक परिवर्तन भइरहेको बताउनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न विपद्, रोगव्याधी, प्राकृतिक असन्तुलन, तापक्रममा अनपेक्षित वृद्धि तथा जैविक विविधता र वासस्थानमा आएको परिवर्तनले विश्वकै भविष्यप्रति चिन्ता बढाएको उहाँको भनाइ छ।

उहाँले जलवायु परिवर्तनबाट भएको क्षतिपूर्तिमा मात्र केन्द्रित नभई क्षति हुन नदिनेतर्फको कारण पहिचान गरी त्यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ। वातावरणीय न्याय उपचारात्मक नभई वितरणात्मक न्यायमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ।

नेपालका हिमाल, पहाड, तराई, उपत्यका र बेँसी सबै क्षेत्र जलवायु परिवर्तनबाट प्रभावित रहेको उल्लेख गर्दै डंगोलले भौगोलिक क्षेत्रअनुसार प्रभावको प्रकृति र कारण फरक भए पनि कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको बताउनुभएको छ।

घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी निकाय तथा विज्ञहरूको सहभागितामा भदौ ३० र ३१ गते आयोजना गर्न लागेको सम्मेलनले जलवायु परिवर्तनका असर र समाधानका उपायबारे घनीभूत छलफल गर्ने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ।

महानगरपालिकाले सम्मेलन आयोजना गरेकोमा घरपझोङ गाउँपालिकालाई बधाई तथा धन्यवाद दिँदै सम्मेलनको पूर्ण सफलताको शुभकामना दिएको छ। कार्यवाहक प्रमुख डंगोलले सम्मेलनमा सहभागी भएर योगदान गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि प्राविधिक कारणले भौतिक रूपमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ।