काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच चर्को प्रतिस्पर्धा सुरु भएको चर्चा चलिरहेका बेला दुई जनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ बालुवाटार पुग्नुभएको थियो । भेटमा दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
दुई जना नेताबीच भएको भेटमा एमालेका एक जना पदाधिकारीसमेत सहभागी रहेको स्रोतले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल भएको बताइएको छ ।
उहाँहरुले एमालेभित्र विवाद चर्किएको भन्दै बाहिर सार्वजनिक भएका विषयमा पनि छलफल भएको थियो । तर दुवै नेताहरुले बाहिर सार्वजनिक भइरहेका विषय जस्तो अवस्था नरहेको बताएका छन् ।
त्यस्तै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेका बेला एमाले पार्टीभित्रै त्यसबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् । टीका टिप्पणीबीच भएको उनीहरूको भेटवार्तालाई सकारात्मक रूपमा लिनुपर्ने एमालेका नेताहरुले बताएका छन् ।










