१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

कोरोनाको कहरमा आत्महत्या गर्नेको संख्या १४ सय ९८ पग्यो

कोरोनाको कहरमा आत्महत्या गर्नेको संख्या १४ सय ९८ पग्यो
symbolic picture
अ अ+ अ-

काठमाडौँ । गत मंगलबार बिहान १० बजेतिरको कुरा हो । काठमाडौं–भक्तपुरको साँध छुट्याएर बग्ने मनोहरा खोलामा एक युवकले हामफाले । प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्‍यो तर रातभरको दर्के झरीका कारण उर्लेको मनोहराले ती युवकलाई एकैछिनमा बगायो । बुधबार दिउँसो मात्रै प्रहरीले हामफाल्नेको शव फेला पार्‍यो । उर्लंदो खोलामा हामफाल्ने युवक रामेछापको मन्थली घर भई काठमाडौं, जडीबुटी बस्ने ३४ वर्षीय सानुबहादुर कार्की रहेको प्रहरीले पत्ता लगायो । सानुबहादुर आफैंलाई सिध्याउन किन तम्सिए ? महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष बस्नेतले आत्महत्या पुष्टि भए पनि त्यसका कारण यकिन भइनसकेको बताए । तर परिवारका अनुसार दुई वर्षअघि किस्ताबन्दीमा गाडी किनेका सानु पछिल्ला दिन कसरी गाडीको किस्ता तिर्ने भन्ने तनावमा थिए । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार लकडाउनसँगै गाडी थन्किएपछि उनको आम्दानीको बाटो सुकेको थियो । त्यही बेला गाडी बेच्ने कम्पनीले उनलाई चैतयताको सबै किस्ता तिर्न दबाब दिइरहेको थियो । कार्कीको घटना अनुसन्धानमा जुटेका एक प्रहरीले आर्थिक संकटकै कारण तनावमा आएर आत्महत्या गरेको बताए ।

कोरोना संक्रमण बढ्दै जाँदा काम गरिखाने वर्ग आर्थिक संकटको चपेटामा मात्रै परेको छैन, भोलि के हुने हो भन्ने भयमा पनि पिरोलिएको छ । अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी कामबाट निकालिए । गरिखाने बाटो बन्द भएपछिको तनाव झेल्न नसकेर विक्षिप्त बनेका सिद्धार्थले जेठ २६ मा आफ्नै शरीरमा आगो झोसे । प्रत्यक्षदर्शीले तत्कालै आगो निभाएर उनलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा त पुर्‍याए तर उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणकै कारण रोजीरोटी खोसिएपछि भारतका विभिन्न सहरबाट कैयौं दिनको कष्टप्रद यात्रा छिचोल्दै स्वदेश फर्केकाहरूले पनि सानु र सिद्धार्थले जस्तो आफैंलाई सिध्याउने बाटो रोजेका घटना सार्वजनिक भइरहेका छन् । असार ८ मा बझाङको छबिस पाथीभेरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले क्वारेन्टाइनभित्रै आत्महत्या गरे । भारतको बैंग्लोरबाट असार ६ मा फर्केका धामीले किन आत्महत्या गरे भन्ने खुलिसकेको छैन । तर उनका परिवारका सदस्यका अनुसार रोजगारी गुमेको र परिवार कसरी पाल्ने भन्ने तोडले उनी छटपटाइरहेका थिए ।

गुल्मीको छत्रकोट गाउँपालिकामा जेठ १७ गते यस्तै अप्रिय घटना भयो । भारतको दिल्लीबाट कैयौं दिनको कष्टप्रद यात्रापछि भैरहवा नाका हुँदै गाउँ फर्केका चन्द्रबहादुर परियार क्वारेन्टाइनमा बसेकै दिन आफूलाई सिध्याउने अप्रिय निर्णयमा पुगे । पिसाब फेर्न भन्दै स्कुलछेवैको जंगलमा छिरेका उनी फर्केर आएनन् । क्वारेन्टाइन रहेको वडा ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार त्यतिबेला क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य जाँच चलिरहेको थियो । धेरै बेरसम्म पनि नफर्केपछि उनको खोजी सुरु भयो । नजिकैको दबदबेको रूखमा कटनको गम्छा च्यातेर पासो लगाई उनले प्राण उडाइसकेका रहेछन् । वडाध्यक्ष न्यौपानले चार छोराका बाबु चन्द्रले आफैंलाई सिध्याउने अप्रिय निर्णय किन लिए कसैले भेउ नपाएको बताए । लम्बिँदो लकडाउन, बढ्दो संक्रमण र यसबाट सिर्जित संकटका कारण आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आत्महत्याका कारण यही हो भन्नेबारे कुनै सरकारी अध्ययन सार्वजनिक नभए पनि आत्महत्याको बढ्दो संख्याका पछाडि लकडाउन र जारी कोरोना संक्रमण जिम्मेवार रहेको बुझ्न गाह्रो पर्दैन ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांक हेर्ने हो भने लकडाउन लम्बिँदै जाँदा आत्महत्या गर्नेको दरमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७६र७७ को सुरुवाती ८ महिनामा ३ हजार ५ सय २४ जना अर्थात् औसतमा दैनिक १४ जनाले आत्महत्या गरेको देखिन्छ । लकडाउनको सुरुवाती ६१ दिन (चैत १० देखि जेठ १० सम्म) मा ९ सय ६३ अर्थात् औसत दैनिक १६ जनाले आत्महत्या गरेका थिए । जेठ ११ यताको २८ दिनमा ५ सय ३५ अर्थात् दैनिक १९ जनाले आत्महत्या गरेको देखिन्छ । यो तथ्यांकले सामान्य अवस्थामा भन्दा पछिल्ला दिन औसतमा दैनिक ५ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।

सरकारले कोरोना संक्रमणबाट नागरिकलाई बचाउन प्रयास गरे पनि संक्रमण रोकथामका निम्ति चालिएका सरकारी कदम प्रभावकारी हुन नसक्दा अन्य कारणले नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको छ । कोरोना संक्रमणकै कारण चैत ११ यता २८ जनाले ज्यान गुमाएका छन् । यही अवधि अर्थात् चैत ११ देखि असार ६ गतेसम्म आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या १४ सय ९८ पुगेको छ । जसमा ७ सय ६६ पुरुष, ५ सय ६० महिला, ६५ बालक र १ सय ७ बालिका रहेका छन् ।

लकडाउनका कारण अधिकांश मानिस घरभित्रै खुम्चिएर बस्न बाध्य भए पनि यो अवधिमा झुन्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै देखिन्छ । चैत ११ देखि असार ६ गतेसम्म भएका कुल आत्महत्यामा ८३ प्रतिशत झुन्डिएर भएको देखिन्छ । सामान्य अवस्थामा कुल आत्महत्या दरमा विष सेवन गरेर हुने आत्महत्या १९ प्रतिशत हाराहारीमा देखिन्थ्यो । तर लकडाउनमा बजार बन्द भएको र विषको उपलब्धता सहज नभएका कारण यसरी आत्महत्या गर्नेको संख्या घटेर १४ प्रतिशतमा पुगेको देखिन्छ । त्यस्तै एक प्रतिशतभन्दा थोरैले हामफालेर र डुबेर आत्महत्या गरेको देखिन्छ ।

मनोविश्लेषक वासु आचार्य आत्महत्या गर्नेहरूको बढ्दो संख्यालाई मात्रै नभई कति जनाले आत्महत्याको असफल प्रयास गरे, कतिले आत्महत्या गर्ने सोच राखे भन्ने संख्यालाई पनि सँगसँगै राखेर हेर्नुपर्ने बताए । उनले भने, ‘संक्रमणबाट सिर्जित आर्थिक र सामाजिक समस्याका कारण मान्छेलाई बाँच्नै असहज हुने परिस्थिति निर्माण भइरहेको छ । राज्यले समयमै ध्यान नदिँदा मानिसहरू आत्महत्याको बाटो रोज्न बाध्य भइरहेका छन् ।’ उनले अव्यवस्थित क्वारेन्टाइनमा बस्नेहरूको मनोभाव बुझ्ने प्रयास नहुँदा भोलिका दिनमा पनि क्वारेन्टाइनमै आत्महत्या गर्नेको संख्या बढ्न सक्ने बताए । कान्तिपुर दैनिक