२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि कार्यप्रणालीमा सुधार गर्न सांसदहरुको माग



अ+ अ-

काठमाडौं । सांसदहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा सांसदहरुले नेपालमा कोरोना संक्रमणको पहिलो केस देखि पछिको अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन् ।

पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको बताएका हुन् । क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबहरुको क्षमता बढाउने लगायका काममा कुने प्रगति हुन नसकेको सांसदहरुले बताए ।

सांसदहरुले सरकार अझैपनि खरिद प्रक्रियामा अल्झदै बसेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले सांसदहरुले आपूर्ति व्यवस्थापन महासाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफुले चाहेको ठउँमा लगेर बाँडने र फोटो खिच्ने प्रवृतिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति आएको बताउनुभयो ।

उहाँले सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वारेन्टाइन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिले सम्म पनि कुनै सुधार नदेखिएको बताउनुभयो ।

सांसद जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दा समेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताउनुभयो । सरकार खरिद प्रक्रियामा अल्झने र स्थानीय तहले मापदण्ड विपरित क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रीत हुँदा समस्या जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो ।

सांसद हितबहादुर तमाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझैपनि समन्वय हुन नसकेको बताउनुभयो । यस्तै स्थानीय तहहरुबीच क्वारेन्टाइन र आइसोलेसन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय काम हुन नसकेको उहाँले बताउनुभयो ।

सांसद विद्या भट्टराईले कोभिडका कारण हुने स्वास्थ्य समस्या भन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताउनुभयो । कोभिडलाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाका संक्रमित भन्दा पनि अन्य दिर्घरोग लागेका र सुत्केरी तथा गर्भवति महिलाले उपचार नपाउने अवस्था आउँदा अझ बढी समस्या देखिएको बताउनुभयो । यस्तै लामो समय भइसक्दा पनि क्वारेन्टाइनको गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।

सांसद अन्जना विशंखेले कोरोना भाइरसका कारण समाजमा नयाँ समस्या देखिदै गएकोले अवको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताउनुभयो । उहाँले कोभिडलाई सामाजिक हिसाबले जोडेर त्यसबाट आएका समस्या समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले सरकारले गरेका कामहरुको समिक्षा गर्दै लामो समय भइसक्दा पनि काम गर्ने तरिकामा सुधार गर्न नसकेको बताए । अहिले कोरोनाको कारणले भन्दा पनि अन्य रोगहरुका कारण समस्या देखापरेको र यो अवस्थामा सरकारको ध्यान कोरोनामा मात्रै केन्द्रीत भएको भन्दै सबै पक्षलाई हेरेर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।