१९ माघ २०८१, शनिबार
,
Latest
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं भ्याली स्कुलको दादागिरी, शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की



अ+ अ-

काठमाडौं । राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्कबापत ४० हजार रुपियाँसम्मको बिल पठाएपछि विद्यालय र अभिभावकबीच टकराव बढेको छ । विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजानसमेत धम्की दिएको छ ।

यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले आफूले नयाँ प्रविधिमा आधारित अनलाइन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यसबापत शुल्क माग गरेको बताउनुभएको छ । आफूलाई सूचना प्रविधि विज्ञ र अनुसन्धानकर्ताको परिचय दिने श्रेष्ठले कुनै हालतमा अहिले तिर्न नसके पनि वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।

सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्कसमेत गरी जेठसम्मको २९ हजार ४ सय, ३३ हजार ५ सयको बिल पठाएको छ । बिल पठाउँदा समस्या देखिने भएपछि भाइबरमा बिल पठाएको एक अभिभावकले बताए ।

प्रत्येक परीक्षाबापत १ हजार रुपियाँ लिने गरेको सो विद्यालयले असार २२ बाट परीक्षा शुरु भएको जानकारी गराउँदै विद्यालयबाट उत्तरपुस्तिका लैजान उर्दी जारी गरेको छ । अभिभावक अमन तुलाधरले विद्यालयले अति गरेपछि परीक्षा र अनलाइन कक्षासमेत वहिष्कार गरेको बताउनुभयो । विद्यालयले कक्षा १ देखि १० सम्मको परीक्षा लिन सूचना जारी गरेको छ ।

लकडाउनको समयमा भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा विद्यालयले स्कुलमै आएर उत्तरपुस्तिका लैजान आग्रह गरेको हो । परीक्षासम्बन्धी ५ बुँदे निर्देशनमा अभिभावक र विद्यार्थीले घरमा बसेर शिक्षकको अगाडि खाम खोल्नुपर्ने, २४ घण्टाभित्र उत्तरपुस्तिका विद्यालयमा पुर्याउनुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ ।
तुलाधारले डा. श्रेष्ठसँग परीक्षा सञ्चालन नगर्न, वार्षिक शुल्क नलिन र मासिक शुल्कमा केही विचार गर्न आग्रह गर्दा बेवास्ता गरेको बताउनुभयो । श्रेष्ठको धम्कीपछि १ सय ३० जना अभिभावकले भाइबर ग्रुप बनाएर अनलाइन कक्षा बहिष्कार गरेका छन् ।

हिसानका उपाध्यक्षसमेत रहेका श्रेष्ठले सिस्टमबाट शुल्कबापतको रकम जारी भएको स्वीकार गर्दै कसैलाई पनि जबरजस्ती नगरेको बताउनुभयो । विद्यालयले ८ सय विद्यार्थी रहेको विद्यालयमा १ सय ३० विद्यार्थीले स्कुल छाड्दा कुनै समस्या नपर्ने धम्कीसमेत दिएको अभिभावको भनाइ छ ।

विद्यालय प्रशासनले पटकपटक टेलिफोन गरी शुल्क तिर्न ताकेता गरेपछि अभिभावकले प्याब्सन र काठमाडौं महानगरपालिका शिक्षा विभाग गुहारेका छन् । उनीहरुले शिक्षा विभागमा उजुरी दिएका छन् । ‘अहिले हामी ६३ जना अभिभावकले हस्ताक्षर गरेका छौं, यो क्रम बढ्ने क्रममा छ’ –तुलाधरले भन्नुभयो । सहमतिमा मासिक शुल्क तिर्ने तयारी गर्दा पनि नमानेपछि बाध्य भएर परीक्षा र अनलाइन कक्षा वहिष्कार गरेको तुलाधरले बताउनुभयोे ।

अध्यक्ष श्रेष्ठले अनलाइन कक्षालाई लगातार पढाइ सरह मान्यता दिँदै दिएका कारण रकम माग गरेको बताउनुभयो । ‘हामीले सबै रकम अहिल नै मागेका छैनौं, पटकपटक तिर्ने गरी आग्रह गर्दा पनि अभिभावकले अस्वीकार गरिरहेका छन’ –उहाँले भन्नुभयो ।

अधिकांश विद्यालयले मासिक शुल्क मात्र लिएको अवस्थामा सो विद्यालयले एक वर्षभित्र जसरी भए पनि वार्षिक शुल्क तिर्नैपर्ने अडान दोहो¥याएको छ ।

श्रेष्ठले आफ्नोे विद्यालयको अनलाइन पढाइको सिस्टम फरक भएकाले बढी रकम मागेको जस्तो लागेको हुन सक्ने बताउँदै अभिभावकसँग रकम माग्नु कुनै गल्ती नभएको बताउनुभयो । त्यसै गरी उहाँले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अनिवार्य रुपमा परीक्षा लिएको जिकिर गर्दै परीक्षाको विषयमा आफू गलत नभएको दाबी गर्नुभयो । सो विद्यालयले यही २९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अध्यक्ष डा. श्रेष्ठले अभिभावकसँगको कुराकानीमा आफू ‘सरकारका सूचना विज्ञ भएको र अनलाइन कक्षालाई विद्यालयले पढाइ शुरू गरेको जानकारी गराउँदै आएका छन् । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भननुभयो– ‘नयाँ प्रविधि प्रयोग गरी पढाउँदा आफुमाथि आरोप लाग्ने गरेकोमा अचम्म लागेको छ ।’ 

शुल्क लिए कारबाही
काठमाडौं महानगरपालिका संस्थागत विद्यालय शाखा प्रमुख मोती खनालले छाउनीस्थित काठमाडौं भ्याली स्कुलको विषयमा मौखिक उजुरी आएको बताउनुभयो ।

उहाँले सो विद्यालयले मनपरी रुपमा शुल्क उठाएको जानकारी आएको बताउँदै शुल्क नलिन मौखिक रुपमा निर्देशन दिएको बताउनुभयो । उहाँले अभिभावकले सोमबार दिउँसो पत्र पुर्याएपछि थप छानविन शुरु गरेको बताउनुभयो ।
विद्यालयले अपराध गर्यो

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले छाउनीस्थित काठमाडौ भ्याली स्कुलले विद्यार्थीसँग मनपरी शुल्क असुल्न खोजेर अपराध गरिरहेको बताउनुभयो ।

उहाँले सरकार र निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनबीच वार्ताबाट समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको अवस्थामा एउटा विद्यालयले अभिभावकसँग मनपरी शुल्क असुल गर्न खोजेर गलत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यो त अपराध सरह हो, हामीले विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन । काठमाडौं जिल्ला शिक्षा समन्वय इकाइसँग छलफल गर्दा पनि विद्यालयले बेवास्ता गरिरहेको छ ।’ प्याब्सनले यो विषयमा छलफल गरी ठोस निर्णय लिने तयारी गरिरहेको उहाँको भनाइ छ । अभिभावकले सोमबार प्याब्सन काठमाडौंमा पनि उजुरी दर्ता गराएका छन् ।, समाचार नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।