२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा हनुमान जन्मोत्सव मनाइयो



अ+ अ-

धनुषा। जनकपुरधाममा हनुमान जन्मोत्सव भव्यताका साथ मनाइएको छ । आज जनकपुरधामस्थित जानकी, रामलगायत मन्दिरबाट निस्केको शोभायात्रा नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको छ ।

जनक चोक पुगेका भक्तजनले सामूहिक रूपमा हनुमान चालिसा पाठ गरेपछि जन्मोत्सव समापन भएको हो । यस अवसरमा जनकपुरधामसहित विभिन्न स्थानका हनुमान मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो । जनकपुरधामको विभिन्न मन्दिरबाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नाका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरिएको थियो ।

भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका रूपमा पनि मनाउने गरिन्छ । जनकपुरधाममा हनुमान जयन्तीका अवसरमा भारत एवं नेपालको विभिन्न सहर तथा ग्रामीण भेगबाट हजारौँ श्रद्धालु भक्तजनसहित साधुसन्तको सहभागिता थियो ।

मर्यादा पुरुषोत्तम रामको भक्त हनुमान भएकाले उहाँको जन्मजयन्तीका अवसरमा यहाँ महोत्सव आयोजना गरिएको जनाइएको छ । सीताको जन्मभूमि जनकपुरधामको विभिन्न मन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको उल्लेख्य सहभागिता थियो । रासस