२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’



अ+ अ-

लेखनाथ, (कास्की) । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताउनुभयो ।

पहिलो अन्तरराष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङ्छिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उहाँले सिचुवान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छेन्दु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा(चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिनुभयो ।

परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले चीनका विभिन्न सहरसँग पोखराको सम्बन्धलाई प्रगाढ बनाएको धारणा राख्नुभयो ।

कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । रासस