२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

आँटेको पु-याइदेउ बागलुङ कालिका…

आँटेको पु-याइदेउ बागलुङ कालिका…
अ अ+ अ-

गण्डकी:  जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका…’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।

गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

उहाँका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।

कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताउनुभयो । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताउनुभयो । “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।

देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो । साउन र पुस महिनामा भने बलि नचढ्ने उहाँको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उहाँले भन्नुभयो, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।”

मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई…’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उहाँका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।

“त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”

पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।

गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताउनुभयो । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।  राम थापा/रासस