२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई



अ+ अ-

धनकुटा। धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ । सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो ।

निर्धारित समयमा २÷२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी भएको हो । पेनाल्टी सुटआउटमा नमोबुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरे । यस्तै, गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा राज भुषालले गोल गर्दै नमोबुद्धलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसलगत्तै ४१औँ मिनेटमा गाईघाटका आकाश राईले गोल गरेर खेललाई बराबरी बनाए । नमोबुद्धका क्षितिज भण्डारीले ४४औँ मिनेटमा एक गोल गरेपछि २–१ को अन्तर भएको खेल, दोस्रो हाफको ८३ औँ मिनेटमा उदयपुरका अशिम राईले गोल गरेपछि बरावरीमा टुङ्गिएको थियो ।

फाईनल खेलको म्यान अफ दी म्याच नमोबुद्धका गोल रक्षक रविन बस्नेत, सर्वोत्कृष्ट खेलाडी राज भुषाल, उत्कृष्ट डिफेन्डर आयुष मगर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित भए । यस्तै, उत्कृष्ट स्टाईकर गाईघाटबाट खेल्ने विदेशी खेलाडी फोफाना घोषित भए ।

उपाधि बिजेता नमोबुद्धले नगद रु चार लाख ९९ हजार नौ सय ९९ सहित ट्रफी र उपविजेता गाईघाटले नगद रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ तथा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विसं २०५५ देखि हुँदै आएको खेलको यस संस्करणमा आठवटा टोलीको सहभागिता रहेको थियो । तत्कालीन राजा बिरेन्द्रलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।रासस