२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा



अ+ अ-

म्याग्दी, (बेनी) । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको स्थानीयको बुझाइ छ ।

मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताउनुभयो । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उहाँले बताउनुभयो । यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।

गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयो । “पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देशविदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उहाँले भन्नुभयो ।

भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ । छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् । प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।

भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ । भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिनुभयो । यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ । भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् । रासस