३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनका किसानको पीडा: आलुको बीउ जोगाउनै मुस्किल



अ+ अ-

– खेमराज गौतम
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरले २५ रोपनी क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । उनले बर्सेनि २५ रोपनी जग्गाबाट ६० मुरी आलु फलाउँदै आए पनि यस वर्ष जम्मा पाँच मुरी आलु उत्पादन भएको बताए। अहिले मगरसहित ढोरपाटनका सबै किसान आलु खन्न व्यस्त छन् । फलेका आलुको समेत सानो दाना लागेको मगरको भनाइ छ । मगरजस्तै ढोरपाटन उपत्यकावासीको मुख्य बाली आलु हो । आलुबाहेक त्यस क्षेत्रमा ज्वातो र स्याउखेती मात्रै हुन्छ ।  

अत्यधिक चिसो ठाउँ भएकाले स्वादिष्ट आलु फल्ने यस क्षेत्रमा वैशाखबाटै वर्षा हुन थालेपछि आलु उत्पादनमा भारी गिरावट आएको मगरको भनाइ छ । यहाँका सबै स्थानीयवासीले आलुसँग अन्य अन्नपात साट्ने अथवा आलु बेचेर परिवार पाल्दै आएका थिए । बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र पर्यटकीय, धार्मिक तथा प्राकृतिक हिसाबले मात्रै होइन, आलु र स्याउखेतीले समेत प्रख्यात छ । यहाँ आउने जो–कोहीले कोसेलीका रूपमा आलु नै लैजाने गरेका छन् । “बर्सेनि ६० मुरी आलु फल्थ्यो”, मगरले भने, “अहिले मौसमले साथ दिएन, आलु उत्पादनमा भारी गिरावट आएर जम्मा पाँच मुरी मात्रै आलु फलेको छ ।” ढोरपाटनका किसान यस वर्ष बिक्री गर्नेभन्दा पनि आलुको बीउ जोगाउनै मुस्किल रहेको बताउँछन् । 

ढोरपाटन उपत्यकाको मसगाउँ, भूजीगाउँ, गावागाउँ, गिजा, गुम्बा स्यालपाखे, श्रणनार्थी बस्ती र नवीलगायतका एक दर्जन गाउँमा आलुखेती राम्रो हुने गरे पनि यस वर्ष आलु उत्पादनमा उल्लेख्य कमी आएको अर्का किसान पानबहादुर विकले बताए ।  

ढोरपाटनवासीका लागि साउन महिना आलु खन्ने महिनाका रूपमा रहे पनि यस वर्ष आलुको दाना नलागेपछि किसान चिन्तित भएका छन् । ढोरपाटन उपत्यकामा अधिकांश घुम्ती बसाइ रहेकाले यस स्थानमा नगरपालिकाका अधिकांश वडाको जग्गा रहेको छ । ढोरपाटन नगरपालिकाकै अधिकांश वडाका मानिसले ढोरपाटन उपत्यका क्षेत्रमा आलुखेती गर्दै आएका छन् । अत्यधिक वर्षा भएका कारण आलु उत्पादन नहुँदा बीउ जोगाउनै गाह्रो भएकाले निराश बनाएको स्थानीय किसान जीवनकुमार पुनले बताए । करिब ४५ रोपनी जग्गामा आलुखेती गर्दै आएका उनले अब वर्षभरलाई पुग्ने आलुको बीउ मात्रै भए पनि जोगाउन पाए हुन्थ्यो भन्ने पिरलोसमेत थपिएको बताउछन् । 

धेरैले व्यावसायिकरूपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको तर यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गरे । “चार–पाँच मुरी आलु फल्थ्यो, वर्षभरि खान पुग्थ्यो”, अदैले भने, “अहिले आलु खाने त कुरै छाडौं, बीउमात्रै जोगाउन पाए पनि राम्रो हुन्थ्यो ।” स्याउको व्यावसायिक निर्यात हुन नसके पनि ढोरपाटनवासीको मुख्य पेशाका रूपमा रहेको आलु देशका विभिन्न स्थानमा निर्यातसमेत हुँदै आएको छ । चिसो ठाउँ भएकाले यहाँको आलु निकै स्वादिष्ट मानिन्छ । यस क्षेत्रका मानिस अधिक समय भातको साटोमा आलु नै खाने गर्दछन् । 

घाम लाग्नुपर्ने समयमा अत्यधिक वर्षा भएकाले डढुवा रोग लागेका कारण आलुले दाना नलगाएको नगरपालिकाका कृषि शाखाका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए । वैशाख, जेठ, असार आलुको ‘सिजन’ भए पनि अविरल वर्षाका कारण आलुको दाना लाग्ने बेलामा डढुवा रोग लागेकाले आलुका बोट मर्ने, दाना नलाग्नेजस्ता समस्या भई आलु उत्पादनमा भारी गिरावट आएको अधिकारीको भनाइ छ । “ढोरपाटन क्षेत्र आलुका लागि निकै उर्वर मानिदै आए पनि यस सिजनमा आलुका जरा कुहिने, बोट मर्नेजस्ता समस्या देखियो”, शाखा प्रमुख अधिकारीले भने, “रोग नियन्त्रणका लागि नगरपालिकाले रु तीन लाख बराबरको डढुवा नियन्त्रण विषादीसमेत किसानलाई वितरण गर्यो, तर पानी नरोकिँदा विषादीले समेत काम गर्न सक्ने अवस्था भएन ।”  




भर्खरै