२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना



अ+ अ-

चितवन । जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् ।

चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सात सय ७२ सवारीसाधन संलग्न देखिन्छन् । चालू आवको सुरूको चार महिनामा दुई सय ६१ दुर्घटना भएका थिए । पछिल्लो दुई महिनामा मात्रै दुई सय ४७ दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।

शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन् । यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उहाँको भनाइ छ ।

जिल्लामा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ । पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ ।

सवारी साधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक सय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एक सय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न गतिविधि गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरण गर्न ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” ट्राफिक प्रहरीले शिक्षकलाई तालिम दिने र तालिम प्राप्त शिक्षकले विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरिएको छ । ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्री पनि प्रदान गर्दै आएको छ ।

दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक ‘रिफ्रेस सेन्टर’को स्थापना गरिएको छ भने समय समयम छड्के जाँचलाई तीव्रता दिइएको उहाँको भनाइ छ । शर्माले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्छ ।” रासस