२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एचएमपिभी भाइरस र हाम्रो अवस्था

एचएमपिभी भाइरस र हाम्रो अवस्था
अ अ+ अ-

काठमाडौँ:  आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ । यो भाइरसले खासगरी हालै चीनमा सयौँ मानिस बिरामी बनाएको, अस्पताल भरिएको, अनि मृत्युसमेत गराइरहेको भनिएको छ ।

चीनमा नै पहिलोपटक देखिएको कोभिड–१९ ले नेपाललगायत विश्वमा हजारौँ मानिसको मृत्यु गराएको केही वर्ष मात्र भएको हुँदा फेरि चीनमा फैलिएको भनिएको यो भाइरसले कतै कोभिड–१९ को बेलामा जस्तो अवस्था फर्काउने त होइन ? भन्ने चर्चा, जिज्ञासा अनि त्रासले सबैलाई तरङ्गित बनाएको छ ।

वास्तवमा चीनमा देखिएको भनिएको भाइरस के हो ? बन्दाबन्दी (लकडाउन)को सम्भावना कति छ ? कोभिड–१९ मा जस्तै मानवीय क्षति भोग्नुपर्ने अवस्था सिर्जना हुने त होइन भन्ने जस्ता जिज्ञासाहरु यतिबेला सर्वसाधारणमा उत्पन्न भएको देखिन्छ ।

कस्तो हो एचएमपिभी भाइरस ?

एक शब्दमा भन्नुपर्दा रुघाखोकी गराउने भाइरस हो भन्न सकिन्छ । खासगरी ‘कमन कोल्ड’ वा ‘फ्लु’को जस्तो लक्षणहरु यो भाइरस सङ्क्रमित बिरामीमा देखिने गर्दछ । अर्थात् यो भाइरसलाई श्वास–प्रश्वाससँग सम्बन्धित सङ्क्रमण पनि भन्न सकिन्छ । यो भाइरस पहिलोपटक सन् २००१ मा मानवमा पुष्टि भएको थियो । विशेषतः बालबालिकाहरु यो भाइरसबाट प्रभावित हुने भनिएता पनि ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु पनि उत्तिकै प्रभावित हुन सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

जाडो महिनामा यो भाइरस बढी सक्रिय हुने भए पनि १२ महिना नै देखिने गर्दछ । सङ्क्रमण गरेको तीनदेखि छ दिनमा लक्षणहरु देखिने गर्दछ । सुरुआतीमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी आउने वा बन्द हुने तथा श्वास–प्रश्वासमा समस्या देखिने गर्दछ । निमोनिया, ब्रोनकाइटिसजस्ता जटिलताहरु देखिने गर्दछ । यो विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा, हात मिलाउँदा, संक्रमित व्यक्तिको मुखको छिटा कुनै वस्तुमा रहेको र अर्को व्यक्तिले सो वस्तु छोएर सो हातले नाक, मुख अनि आँखामा छुँदा यो भाइरस सर्न सक्दछ ।

एचएमपिभी भाइरसविरुद्ध विशेष एन्टीभाइरल औषधि छैन भने खोपको विकास पनि भइसकेको छैन । लक्षण तथा जटिलताका आधारमा यसको उपचार हुने गर्दछ । यो भाइरसको सङ्क्रमणबाट बच्न विशेषगरी व्यक्तिगत सरसफाइमा नै ध्यान दिनु हो । यसको सर्ने तरिका धेरै हदसम्म कोभिड–१९ को जस्तै भएकाले बच्ने उपाय पनि उस्तै हुने गर्दछ ।

हात साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, हातलाई नाक, मुख र आखामा घरिघरि नलग्ने, खोक्दा वा हाच्छिउँ गर्दा हातको बाहुलीले छोपेर मात्र गर्ने, सार्वजनिकस्थलमा सकेसम्म नजाने र जानैपर्ने अवस्थामा मास्क लगाउने र फर्केपछि राम्ररी हात साबुनपानीले धुने गर्नुपर्दछ ।

कस्तो छ छिमेकी मुलुकमा एचएमपिभी भाइरसको प्रभाव ?

अहिलेसम्म न त चीन सरकार न त विश्व स्वास्थ सङ्गठनले नै अधिकारिक रुपमा एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था सिर्जना भएको छ भनेर स्वीकार गरेको छ । अझ हालै रोयटर्सको ‘फ्याक्ट चेक’को विश्लेषणले एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था नआएको अनि स्वास्थ आपत्काल पनि घोषणा नगरिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो ।

जाडो महिनामा विशेषतः श्वास–प्रश्वाससँग सम्बन्धित लक्षणहरु देखिने हुँदा त्यसका कारक मानिने फ्लु, कोभिड–१९, आरएसभी भाइरस, माइकोप्लाज्मा निमोनियाजस्ता सङ्क्रमणहरु भने देखिएको भनिएको छ । यी सङ्क्रमणहरु सामान्यतयाः हरेक वर्षजसो जाडो महिनामा चीनमा मात्र नभएर नेपाललगायत विश्वका विभिन्न देशहरुमा देखिने गर्दछ ।

कोभिड–१९ ‘प्यान्डेमिक’को समयमा भारतमा नयाँ ‘भेरियन्ट’ देखिँदा त्यसको केही हप्तामा नेपालमा पनि देखिने गर्दथ्यो । त्यसो हुनाले चीनमा महामारीको रुप लिएको भनिएको एचएमपिभी भाइरस भारतमा पनि देखिएको समाचारले पक्कै पनि नेपाल तरङ्गित नहुने भन्ने कुरै भएन । तर एचएमपिभी भाइरस भारत तथा नेपालका लागि कुनै नौलो भाइरस भने होइन । यो भाइरस वास्तवमा विगतका वर्षहरुमा गरिएका विभिन्न अनुसन्धानबाट समुदायमा रहेको पुष्टि हुँदै आइरहेको थियो ।

नेपालमा गरिएका केही अनुसन्धानहरुले चारदेखि १३ प्रतिशतसम्म बिरामीमा यो भाइरस पुष्टि हुने गरेको देखाएको छ । यस अर्थमा पनि हाल भारतमा एकपछि अर्को एचएमपिभी भाइरस देखिनुमा कुनै विशेष वा त्रसित हुनुपर्ने आधार देखिँदैन । जाडो महिनामा यो भाइरसको परीक्षण नियमित गर्ने हो भने हरेक वर्षजसो नै देखिने सम्भावना प्रबल रहन्छ ।

नेपालमा पनि अहिले (जाडो महिनामा) परीक्षण गर्ने हो भने भारतमा जस्तो एकपछि अर्कोमा देखिने सम्भावना रहन्छ । यस हिसाबले भाइरस देखिनु आफैँमा महत्वपूर्ण वा त्रसित हुनुपर्ने अवस्था होइन तर यसको प्रभावले ठूलो प्रकोपको रुप लिन्छ वा लिँदैन भन्ने कुरा विशेष रुपमा लिनुपर्दछ । यद्यपि, सङ्क्रमण हुनु आफैँमा राम्रो भने होइन । तसर्थ, यसबाट बच्ने उपायलाई भने कार्यान्वयन गर्नु उचित हुन्छ किनभने बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुका लागि भने कहिलेकाहीँ यो भाइरसले घातक अवस्था सिर्जना गर्न सक्दछ ।

कस्तो अवस्थामा हुन सक्छ एचएमपिभी भाइरस बढी सङ्क्रामक ?

कुनै पनि सरुवा रोग कहिले पनि बढी सङ्क्रामक वा घातक हुँदैन भन्न सकिँदैन । कतिपय सङ्क्रमणहरु कहिले सामान्य त कहिले घातक हुने गरेको विगतका अनुभवहरु छन् । विशेषतः सङ्क्रमणको जिनमा नै परिवर्तन भए बढी सङ्क्रामक वा घातक हुने सम्भावना बढेर जान्छ । जस्तैः कोभिड–१९ निरन्तर र छिटो–छिटो जिनमा परिवर्तन हुँदा/देखिँदा बहु–लहर देखिनाका साथै थप  सङ्क्रामक वा घातक भेरियन्टका रुपमा जन्म भएको थियो । यसर्थ, एचएमपिभी भाइरसमा यस्तै (कोभिड–१९ मा जस्तै) अवस्था नआउला भन्न सकिँदैन ।

श्वास–प्रश्वाससँग सम्बन्धित भाइरसहरु विगतमा अनि भविष्यमा पनि सम्भावित प्यान्डेमिक सङ्क्रमणका रुपमा हेरिँदै आइरहेको रोग हो । हाल एचएमपिभी भाइरसलाई सामान्य रोगका रुपमा लिएको भए तापनि भविष्यमा बढी सङ्क्रामक तथा घातक नहोला भनेर भन्न सकिने अवस्था होइन । तसर्थ, यो भाइरसको नियमित र निरन्तर निगरानी आवश्यक देखिन्छ ।

अन्तमा, एचएमपिभी भाइरस खासगरी जाडो महिनामा बढी सक्रिय भई फ्लुजस्तो लक्षण देखाउने एक सरुवा रोग हो । हाल चीनमा यो भाइरसलाई महामारीको कारक मानिएको हल्ला व्यापक भए पनि यसको विश्वसनीय अधिकारिक पुष्टि भने हुन सकेको छैन । भारत तथा नेपालका लागि यो भाइरस नौलो होइन । तसर्थ, हाल भारतमा एकपछि अर्कोमा देखिँदै आइरहेको भनिएको एचएमपिभी भाइरस अनुमानित नै मान्नुपर्दछ । तर भारतमा अस्वाभाविक अस्पताल भर्ना गर्नुपर्ने बिरामी सङ्ख्यामा वृद्धि वा मृत्यु भएको अवस्था नदेखिएमा नेपाल त्रसित हुनुपर्ने कुनै आधार देखिँदैन ।

नेपालमा जाडो महिना लागेसँगै बालबालिकाहरुमा फ्लुको जस्तो लक्षणहरु देखिन सुरु भइसकेको छ । तसर्थ, नेपालमा पनि फ्लुसँगसँगै एचएमपिभी भाइरसको प्रयोगशाला परीक्षण गरियो भने भारतमा जस्तै नेपालमा पनि एकपछि अर्कोमा यो भाइरस नदेखिएला भन्न सकिँदैन, जुन हाम्रो लागि अनुमानित मान्नुपर्दछ ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ) रासस