न्याय नपाए गोरखा जानु, विद्या हराए कास्की जानु भन्ने लोकोक्ति गोरखामा राम शाहकै पालादेखि प्रचलित थियो । पृथ्वी त्यही परिवारको एक उत्तराधिकारी थिए, गोरखाभूमिका राजा भए । पृथ्वीले माटो, प्रजा, इतिहास र संस्कृतिमाथि सधैँ न्याय गरे । पराजित गराएका राजाहरुलाई समेत सहयोग दिए । विजय गरेको राज्यलाई पराई सोचेनन् बरु गोरखाली जनतालाई नेपाली बनाए, गोरखाली संस्कृतिमा पूर्णविराम लगाएझै ती सबैलाई नेपालीसंस्कृतिमा मिसाइदिए । सद्विचार, सद्भाव। सद्समन्वय नभइ मुलुक बन्दैन भन्ने उनको चिन्तन देखिन्छ ।
आफन्तवाद, भ्रष्टाचारले राष्ट्रको जग हल्लिन्छ भन्ने ठम्याइथियो । पृथ्वीले भनेका छन् – ‘न्यायनिसाफ बिगार्ने भनेका घूष दिने र घूष खाने व्यक्ति हुन्, यी देशका महान शत्रु हुन्. यिनको जिऊ धन दुवै हरणगरी लिए पनि पाप लाग्दैन. । त्यसबेलाको राष्ट्रिय आयस्रोत कति नै थियो र ? कर्मचारीतन्त्रभन्दा सैन्यतन्त्रको माहोल अधिक थियो । आर्थिक अपचलन गर्नेलाई पाप ठान्ने समयमा पनि उनको सोच त्यहाँसम्म पुगेको थियो । भ्रष्टाचार गर्नेलाई सबैभन्दा कडा दण्ड दिने उनको नीति आजसम्म पनि धर्म र कानुनसमेत छ ।
भ्रष्टाचार हुनै नदिने र भएमा दण्ड दिने पक्षमा न्यायालय र दलहरु हुनुपर्छ । एक राजाको, एक योद्धाको, एक शासकको, एक अभिभावकको, एक नेताको रुपमा उनीलाई धारेहात लगाउनुपर्ने अवस्था आजसम्म कहाँ छन् ? उनले भने– “प्रजा मोटा भया दरबार बलियो रहन्छ. राजाका भण्डार भन्याका रैतानहरू हुन्.” । उनले जनतालाई दास, सेवकका रुपमा लिएनन् । शासक र जनता एकै परिवारका सदस्य भएको सन्देश दिए ।
गणतान्त्रिक सरकारमा यो संस्कार भएमा बालुवाटार, गिरिबन्धु, ओम्नी, भूटानीशरणार्थीकाण्ड भोग्नुपर्ने थिएन । चाणक्यले भनेका थिए– “प्रजासुखे सुखं राज्ञ: प्रजानाञ्च हिते हितम् । नात्मप्रियं प्रियं राज्ञ: प्रजानान्तु प्रियं प्रियम् ।।” प्रजाको सुखमा राजाको सुख, हित र भविष्य छ । राजाको अलगै कोही प्रिय केही छैन, प्रजाले रुचाएकै राजालाई प्रिय हुनुपर्छ । जो न्यायको बाटोमा हिँड्छ उसैले अरुलाई पनि हिँडाउन सक्छ ।
पृथ्वीले योद्धालाई मात्र होइन विद्वान्, साधक, सन्त आदिबाट आशीर्वाद लिए, मार्गदर्शन मागे र राष्ट्रहितमा उत्तिकै सदुपयोग गरे । एक मोहर दिएर अर्थ संकलन गराउने विसे नगर्ची, उपत्यकाका राजा बन्ने आसा देखाउने, भानु जैसी र कुलानन्द ढकाल, पश्चिमा राज्यलाई नियन्त्रण गराउन सहयोग गर्ने योगी भगवन्तनाथलाई मार्गदर्शकको रुपमा लिए । भगवन्तनाथको २२से र २४से राज्यमा राम्रो पहुँच र सम्मान भएकाले पृथ्वीनारायणले गोरखनाथको रुपमा आदर गरे । योगीको तपोबल, अनुभव र आशीर्वादमात्र होइन एकीकरणमा आर्थिक रुपले ठूलो सहयोग लिए । गोरखाका नाथहरुले कार्तिक र चैत्रमहिनामा फेरी लगाउँथे । उनीहरुले एउटा फेरीको आय आफूले राखेर अर्को राज्यलाई बुझाउँथे । सेनालाई योगीको भेषमा उपत्यकामा पठाई यहाँका बाटोघाटो, प्रजाको विचार र राज्यको अवस्था बुझ्थे । महात्माहरुको सेवाका लागि गुठी राखिदिए ।
चौबीसी सेनाले वि. सं. १८१२ मा गोरखाको सिîानचोकमा आक्रमण गर्दा गोरखाली सैनिकले बल्लतल्ल विजय पाए । पाल्पासँग सन्धि गरी लमजुङ र तनहुँलाई रोक्न सक्ने पृथ्वीले बुझेका थिए । उनीहरुका बिचमा फुट ल्याउन सम्बोधन, सम्मान, सन्धिद्वारा नजिक बनाएझैँ गर्थे । यसकारण काश्की र तनहुँलाई फकाउने काम गरिरहे ।
वि. सं. १८२० जेष्ठवदि ७ मा गोरखा र तनहुँबीच सन्धि भयो । पृथ्वीनारायणले वि. सं. १८२४ मा ज्योतिषी कालु पाँडेलाई लेखेको पत्रमा भीरकोटे राजालाई बाज पठाएको, पाँचसय रूपैयाँ भीरकोटे चौतारालाई एक हात्तीसमेत छिटै पठाउने पत्र लेखेका छन् । उनले ज्योतिष र पण्डितहरुलाई उचित रुपले परिचालन गरेको देखिन्छ ।
पृथ्वीनारायणले जनतालाई न्याय दिन कटिबद्ध रहन्थे, न्यायको ढोका खुल्ला राखेर न्यायको उज्यालो बाँडे । “ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी राख्नु, कचहरी (अदालत) पिच्छे एकएक पण्डित राखी निञा (न्याय) शास्त्रबमोजिम चलाउनु, राजाले ठुलो निञानिसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनू” भने । धर्मशास्त्र र व्यवहारलाई चिन्तन गरी न्याय गर्ने परम्परालाई निरन्तरता दिए । उनले एक उच्च अदालतको रूपमा नुवाकोटको अदालत काठमाडौँमा सारेका थिए । यसलाई गोश्वारा अदालतमा राखिएको ऐतिहासिक तथ्यले बताउँछ । दण्डबाट आएको पैसा राजकाजमा प्रयोग नगरी फकिर, जोगीमा बाँडिदिनु । जैसा अन्न उइसा मन जैसा पानी उइसा वाणी भनेझैँ अन्यायबाट आर्जित आयले जीवन र बुद्धिलाई वरवाद गराउँछ भन्ने पृथ्वीलाई थाहा थियो ।
पृथ्वीले आफ्ना पुर्खा राम शाहसहित अग्रज नरेश जयस्थिति मल्ल, महेन्द्र मल्लको न्याय व्यवस्थाबाट निकै प्रभावित थिए । दिव्योपदेशमा उनले भने – “राजा राम शाहले बाँध्याको स्थिति पनि हेरिसकेँ. राजा जयस्थिति मल्लले बाँध्याको स्थिति पनि हेरिसकेँ. राजा महेन्द्र मल्लले बाध्याको स्थिति पनि हेरिसकेँ. ईश्वरले दियो भन्या म पनि यस्ता बन्देजको बार हजार (सम्पूर्ण नेपाल) को स्थिति बाँधी जाँला भन्या अभिलाषा थियो.” ।
हाम्रा न्यायालय, न्यायाधीश र न्यायकर्मीहरुले पृथ्वीबाट कहिले सिक्ने ? संविधान, कानुन र नियमावलिले त्यस देशको मानिस र माटोलाई चिन्नुपर्छ, अदालतले नागरिकलाई बुझ्नुपर्छ । न्यायमूर्तिहरुले मानिसका मानकहरुलाई विचार गर्नुपर्छ । पृथ्वीको तुलोमा अहिलेका न्यायालय, न्यायाधीश र न्यायबारे लेखिएका दस्तावेज कति गहकिला छन्, जोड्ने बेला आयो कि ?
पृथ्वीले अनुभव, शास्त्र र परम्परागत प्रणालीबाट कूटनीतिको ज्ञान हासिल गर्दथे ।न्याय सम्पादका आधार मान्थे । नेपाल (उपत्यका), लमजुङ र तनहूँको केन्द्रमा रहेको गोरखाराज्यले आफूलाई बचाउन हमेशा सचेत रहनुपरेको थियो । गोरखाराज्यनजिक तात्कालिक आठ राज्यमा शाहवंश एवं भारद्वाज गोत्रका राजा भएकाले एकीकरण गर्दा गोत्रहत्याको पाप लाग्ने अवस्था थियो ।
यसबाट बच्न उनले गोत्र परिवर्तन गरे । काशीमा विवाहको नाता जोडे, भक्तपुरका युवराज वीरनरसिंह तथा काठमाडौँका राजा जयप्रकाशसँग मित लगाए । मर्स्याङ्दी पश्चिमका कुनै राज्यलाई नेपालमा गाभ्न नसकेपछि भाइभारदार र आफन्तलाई राखेर दिव्योपदेश दिए । दिव्योपदेश आफैँमा कूटनीतिदर्पण हो । चीन र अङ्क जसँगको सम्बन्ध नै कूटनीतिक सम्बन्ध हो । उनले भने– “उप्रान्त यो राजे दुई ढुंगाको तरूल जस्तो रहेछ” ।
उत्तरको छिमेकी अर्थात् चीनसँगको सम्बन्धलाई उनले भने– “चीनवादसाहसित ठुलो घाहा राष्नु” । ठुलो घाहाले घनिष्ट दौत्य सम्बन्धलाई बुझाउँछ । ब्रिटिशहरुलाई लक्षित गर्दै उनले भने– “दषिनको समुन्द्रका वादसाहसित घाहा ता राष्नु तर त्यो महाचतुर छ.” दक्षिणको ब्रिटिश कम्पनीसँग सम्बन्ध बिगार्नु हुँदैन, नेपालको लागि कम्पनी सरकार खतरा छ । हिन्दूस्थानका राजारजौटालाई ब्रिटिशले आप्नो नियन्त्रणमा लिनेमा उनी ढुक्क थिए । फुटडालो राज करोको ब्रिटिश रणनीतिलाई पृथ्वीले बनारसको यात्रामा राम्रोसँग बुझेका थिए । कुनै दिन हिन्दूस्तानका जनता विद्रोहमा ओर्लिएमा ब्रिटिशलाई अप्ठेरो पर्छ र सुरक्षाको लागि नेपालतिर पस्ने सम्भावनालाई दिव्योपदेशमा व्यक्त गरे । हामी दुई ढुङ्काको तरुलजस्तो स्थितिमा छौँ । आज पनि नेपालका लागि भारत र चीनको बीच सन्तुलन कायम गरेर अगाडि बढÑनुपर्छ ।
पृथ्वीले भनेका थिए– “सन्धिसर्पन् हेरि गडि तुल्याई राष्नु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्याछ. जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु र चुरेघाटिमा षुपै काटिन्याछ. पाच सात पुस्तालाई षजना पनि मिल्नेछ. श्रीगड्डाजिको साध पनि लाग्नैछ. लडाइँमा पुकेन भन्या लोलोपोतो अनेक कलछल गरिकन पनि” ।
जाई लागेर नजाने तर निहूँ खोजेर आएमा छोड्न नहुने सिद्धान्त पृथ्वीको आज पनि उत्तिकै सान्दर्भिक छ । नेपालको सीमा गड्डाजीसम्म पुर्याउनुपर्ने निर्देश दिएका थिए । चार किल्लाले घेरिएको सुरक्षित राजधानीको रूपमा काठमाडौँ उपत्यकालाई चित्रण गरेका छन् । यी किल्लाहरूमा तोप र सैनिक तैनाथ गरेमा दुश्मनले आक्रमण गर्न नसक्ने बताए ।
तोप, पोप, सेवाका नामबाट भारतवर्षलाई नियन्त्रणमा लिइरहेको देखेको कारण अंग्रेजसँग उनी सचेत थिए । आफू बलियो हुनका लागि फराकिलो भूगोल र विशाल सेनामात्र पर्याप्त हुँदैन आन्तरिक अवस्था मजबुद चाहिनेमा विश्वस्थ थिए । आन्तरिक कूटनीतिमा पृथ्वी अब्बल देखिन्छन् । पृथ्वीले वि. सं. १८२५ र वि. सं. १८३० मा सनदहरू जारी गरी कमारामुक्त गराए ।
कानुनद्वारा समाजलाई समयसापेक्ष सुधार गर्नुपर्नेमा उनको ध्यान गएको देखिन्छ । वैदिक परम्परअनुसार गोरखाली फौजले भात खादा लुगा फुकाल्नुपर्ने व्यवस्था थियो । वि. सं. १८१८ मा लुगा फुकाली भात खान लागेका गोरखाली फौजमाथि जयप्रकाश मल्लका फौजले एक्कासी आक्रमण गर्दा सङ्गट बेहोर्नुपरेको थियो । उनले सैनिकलाई निर्देशन दिए– “अबदेखि तिमीहरूले लडाइँमा हुकूम भएसम्म चोखो तिहुन पकाइ. लुगा लगाई खाजा भनी खानु यसमा प्रयश्चित्त पर्दैन” । युगानुकूलको युद्धधर्मको व्यवस्था गरिदिए । अर्थात् सैन्यलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउने उनको कूटनीति थियो ।
नेपाली समाजमा विद्यमान चार वर्ण छत्तीस जातको वर्णाश्रम व्यवस्थालाई यथावत् राखी हिन्दूधर्मलाई प्रश्रय दिएका थिए । सामाजिक संरचनाका सन्दर्भमा– “मेरा साना दुख: ले आज्र्याको मुलुक होईन. सबै जातको फूलबारी हो. सबैलाई चेतना भया….. यो असिल हिन्दूस्थाना हो. आफ्ना कुलधर्म नछोड्नु.” भनेका छन् ।
पृथ्वीनारायण शाहले जाँड र भाङ खान, जुवा खेल्न वि. सं. १८२६ मा बन्द गराए । विशाल नेपालमा गाभिएपछि माझकिरात र पल्लोकिरातसहित चलिआएको प्रथा र संस्कारलाई यथावत् कायम गरिदिए । एकीकरणमा यसले सबैको रीतिथिति, चालचलन, चाडवाड, पूजाआजा, भेषभूषामा आँच आएन र नेपाल निर्माण हुन पुग्यो ।
पृथ्वीले त्यहाँको समाज, संस्कृति, सोच राम्रै बुझेका हुँदा पराजित राजा, रजौटा र त्यहाँका जनतालाई चोट पुग्ने गरी, होच्याउने गरी कुनै कदम उठाएनन् । उनीहरूको खान्गी, सुविधा, बिर्ता, गुठी र जागीर थामी दिएका प्रमाणहरूले पुष्टी गर्दछन् । सबैलाई माटोप्रति अपनत्व, राज्यप्रति आत्मीयता, मौलिकतामा गौरव, शासकप्रति गर्व उत्पन्न गर्न पृथ्वीले ठूलै मिहिनेत गरे ।
नेपालीसमाजलाई आज विदेशीले जात, धर्म, वर्ण, लिङ्ग, भूगोलका आधारमा फुटाउन खोजिरहेका छन् । दलहरु स्वार्थका लागि अराजकता र विदेशी प्रभावप्रति आँखा चिम्लिएका छन् । राष्ट्रमा एउटै लक्ष्य, भावना र सङ्गल्प भएका नागरिकबाट समृद्धि र शान्ति प्राप्ति गर्न पृथ्वीकै बाटो र चिन्तनमा अघि बढ्न आवश्यक छ । यसले पृथ्वीप्रति न्याय हुन्छ, वीरहरुप्रति सम्मान हुन्छ, पुर्खाप्रति श्रद्धा हुन्छ, माटोप्रति विश्वास हुन्छ ।