३ पुष २०८१, बुधबार
,
Latest
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसद्हरूद्वारा आग्रह उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज



अ+ अ-

बलेवा । निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।

गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो । “टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन”, उहाँले भन्नुभयो ।

उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् ।

गत वर्ष एक सय सात जनाले सेवा लिएका बताउँदै चालु आवको पाँच महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो । “सुत्केरी हुने एक÷दुई दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक÷दुई दिनअगावै प्रतक्षिा घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्यचौकीका प्रमुख टोपबहादुर चन्दले बताउनुभयो । “नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउनसक्ने भएकाले एक÷दुई दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ”, उहाँले भन्नुभयो ।

सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुभयो ।

“जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो”, उहाँले भन्नुभयो ।

यो स्वास्थ्यचौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । “गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाउनुुभयो । उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा एक÷दुई दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्”, स्वास्थ्यचौकीका प्रमुख चन्दले भन्नुभयो ।

निसीखोला गाउँपालिकाको रु तीन लाख आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजार लगानीमा उक्त प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । चारवर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्यचौकीका प्रमुख चन्दले बताउनुभयो ।

पछिल्लो समय बडिगाड गाउँपालिका–२ को खरवाङ, हटिया स्वास्थ्यचौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्यचौकीमा प्रतिक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । रासस