२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान



अ+ अ-

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।

स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ । “हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ”, अर्यालले भन्नुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो ।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाँको योजना छ । “पहाडमा सधँै तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।”

धान खेतीका साथै उहाँले व्यावसायिक भैँसीपालन पनि गर्नुभएको छ । उहाँसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताउनुभयो । धान काटेलगत्तै उहाँले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उहाँले सुनाउनुभयो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताउनुभयो । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । “मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभयो । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । रासस