काठमाडौं । यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको छ । नेपालले कुवेतलाई १०८ रनको फराकिले अन्तरले हराएको हो ।
यो सँगै नेपालले जारी प्रतियोगीतामा दोस्रो जित निकालेको हो । यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
नेपालले दिएके १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा जम्मा २२ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाईन् ।उनी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।
कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् भने सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । यस्तै, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिँदा मनिषाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।
त्यसअघि युएईको द सेभेन क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो । नेपालको लागि पुजा महतोले सर्वाधिक ३४ रन बनाएकी थिईन्। साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
कुवेतका लागि आयेशा इक्बाल पेवेकरले २ विकेट लिएकी थिईन्।
नेपालले अब आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।