४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर
अ+ अ-

गलेश्वर । तिहारको दोस्रो दिन आज कुकुर तिहार । मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ ।

कुकर मानव सभ्यतादेखिनै मानवसँग अत्यन्त नजिक बफादार जीव मानिन्छ । वैदिककालमा समेत कुकुरको महत्वपूर्ण भूमिका हुनेगरेको शास्त्रमा वर्णन गरिएको छ । त्यसैगरी चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।

आधुनिक युगमा पनि कुकुरलाई बफादार जीव मानेर मानिसले जङ्गलदेखि सहरका महलको सुरक्षा गर्ने र प्रहरी वा सेनाले पनि अनुसन्धानमा प्रयोग गर्दै आएका छन् ।

म्याग्दीका लेकाली जङ्गल र खर्कहरुमा भेडाबाख्राको रक्षा गर्नेदेखि लिएर गाउँ सहरमा घरको सुरक्षाका लागि कुकर पाल्ने चलन छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका टेकबहादुर तिलिजा वर्षौदेखि लेकाली क्षेत्रमा लगिएका भेडिगोठको सुरक्षाका लागि कुकुरको प्रयोग गदैै आउनुभएको छ ।

विगत सात वर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालको गोठमा रहेका करिब छ सय वटा भेडाबाख्राको सुरक्षाका लागि पालिएका छ वटा कुकुरले जङ्गली खर्कहरुमा भेडाबाख्राको सुरक्षा गरिरहेका छन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जङ्गली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालालाई सङ्केत गर्ने काम कुकुरले गर्ने उहाँको भनाइ छ ।

“कुकुर भएपछि वनको बीचमा रहेको गोठमा हामी रातभरी ढुक्कले सुत्न पाउछौँ, भेडाबाख्रा पनि सरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “बिहान कुकुरलाई खाना दिएपछि छोड्दियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउछन् ।”

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यावसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ । गोठ वन जङ्गलको बीचमा हुने र गोठालाहरु पनी कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टेकबहादुर तिलिजा पनि लेकाली खर्क र घना जङ्गलमा भेडाबाख्रा चराउन महिनौंसम्म एक्लै बस्ने गर्नुहुन्छ । करिब ५० वर्षदेखि भेडाबाख्रा पाल्दै आउनुभएका ६९ वर्षीय तिलिजाको जङ्गल र खर्कका साथी कुकुर हुन् ।

भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तिलिजाले दुई वटा ‘भोटे कुकुर’ पाल्नुभएको छ । फिरन्ते शैलीमा भेडाको गोठ सार्दै लेक–बेशी गर्ने तिलिजा कुकुरनै आफ्नो साथी भएको बताउनुहुन्छ ।

“झरी, बादल, हिउँद, बर्खा केही नभनी एक्लै गोठमा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “दिन–रातसँगै हुने कुकुरले म र भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउँछ ।” तिलिजाले करिब तीनसय वटा भेडाबाख्रा पाल्नुभएको छ । ती भेडाबाख्राको सुरक्षा गर्ने जिम्मा कुकुरलाई नै सुम्पिएको उहाँले बताउनुभयो ।

पाउद्धारकै कमल तिलिजाले पनि चरनका लागि खर्क र हिमालको फेदीमा लैजाने भेडाबाख्राको सुरक्षाका लागि दुईवटा कुकुर पाल्नुभएको छ । ती कुकुरले गोठको वरपर रुगेर भेडाबाख्राको सुरक्षा गर्न पहरा दिन्छन् ।

“जङ्गली जनावर र चोर आएको थाहा पाएपछि कुकुरले भुकेर सङ्केत गर्छ”, तिलिजाले भन्नुभयो, “भगाउन नसके भीड्न पनि तयार हुन्छन् ।”

म्याग्दीका अधिकांश भेडाबाख्रा पालक कृषकको पशुधनको सुरक्षा गर्न कुकुरको महत्वपूर्ण योगदान छ । भेडाबाख्रा गोठका लागि कुकुर अनिवार्य आवश्यकता हो । ठूला शरीर भएका देख्दै डरलाग्दा कुकुर गोठमा पालेपछि चोरले आँट गर्दैनन् । बस्तीदेखि टाढाको घना जंगल भेडाबाख्राको चरन क्षेत्र हो ।

जङ्गलमा चितुवा, ब्वासो र स्यालले भेडाबाख्रालाई आक्रमण गरेर घाइते बनाउने र मार्ने जोखिम हुन्छ । ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन् । अनकन्टार जङ्गल, भीर, पाखामा भेडाबाख्राको सुरक्षा गर्न कुकुर अत्यन्तै भरपर्दो साथी भएको गोठाला प्रेमबहादुर तिलिजा मगरले बताउनुभयो ।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुँदै आएको व्यवसायीयको भनाइ छ । घुम्ती चरनबाट पाल्दै आएका व्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ ।

मनिसलाई हेरालु राख्दा खर्च बढी हुने र जङ्गली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउनुहुन्छ । रासस