११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग



अ+ अ-

काठमाडौँ । तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ । अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् ।

ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आउनुभएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउनु हुन्छ । त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउनु हुन्छ । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको बताउनु भयो । उहाँले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रितिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’

काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दै आउनुभएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताउनु भयो । उहाँले २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उहाँले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताउनु भयो । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो । मादलको लागि काठ सहजै पाउने भएपनि छाला भने ल्याउन गाह्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर शुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुरतिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकारले केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पु¥याउन जरुरी छ ।’

उहाँले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।