३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल 



अ+ अ-

धरान, (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।

उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।

“विदेशमा गएर दु:ख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हँुदैन”, उहाँले भन्नुभयो । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ ।  “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । रासस