१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

चाडपर्वमा घुमौँ लुम्बिनी

चाडपर्वमा घुमौँ लुम्बिनी
अ अ+ अ-

लुम्बिनी । दसैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ ।लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउनुहुन्छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो । ई पू ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो महत्वपूर्ण पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । बुद्ध धर्मप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्रस्थल हो । भगवान गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नैपर्ने क्षेत्र हुन् ।

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चाँैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उहाँकी बहिनी प्रजापती र देवगणहरु भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घन्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुङ्गा चढेर रमाउने गर्छन् । लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ ।

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ । गुरुयोजनाअनुसार तीनवटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् । लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतम बुद्धका सन्देश प्रतिबिम्वित गर्नु हो । यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् । यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ ।

यस्तै गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा रहेका छन् ।लुम्बिनी विश्वभरका लाखौँ मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ । पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ ।

तिलौराकोट : लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन् । विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ । कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई।पू। एघारौं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ । यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए ।

कुदान : कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

निग्लिहवा : कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई।पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवा : क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इ।पू।को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।
जगदीशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलासय जगदीशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सूचीकृत यस तालमा एकै पटक हजारौंको सङ्ख्यामा बिभिन्न जातका चराहरुको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातिको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन् ।

देव दह: देवदह प्राचीन कोलीय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनी देखि करिव ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ । बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौं वर्षमा सहयोगीहरुका साथमा देव दहको भ्रमण गरेको बिभिन्न बौद्ध ग्रान्थहरुमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी बृक्षको समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

रामग्राम: पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहाँसिक, पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ । लुम्बिनी शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हँदै हो, यसको महत्व त्यतिमै सीमित हुँदैन । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मोहनी लगाउँछ । लुम्बिनीमा करिव दुई सय ५० प्रजातिका चरा छन्, जसमध्ये सारसलगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिङ्गर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् । लुम्बिनी सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
–––