२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन



अ+ अ-

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्न आउनुभएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकार, सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हँुदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो ।

एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल रु २० करोड ९३ लाखमा निर्माण गरिएको हो । सो पुल तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको हो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ । यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन ।

गाउँपालिका–५ नारायणी नदीपारिको सुस्ताबस्तीमा तीन सय ५० परिवारको बसोबास छ । उनीहरुमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले बताउनुभयो । वर्षौंदेखि बसोबास गर्दै आएपनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले बताउनुभयो ।