१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
अ अ+ अ-

भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिनुभयो । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उहाँको भनाइ छ ।

“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, किसान कठेतले भन्नुभयो, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी रु सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु एक सय ५० मा बिक्री हुने उहाँको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उहाँले जानकारी दिनुभयो । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताउनुभयो । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उहाँले बताउनुभयो । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उहाँको भनाइ छ ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताउनुभयो । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उहाँको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उहाँको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताउनुभयो । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उहाँको भनाइ छ ।

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उहाँले जानकारी दिनुभयो । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।

भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताउनुभयो । सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उहाँको भनाइ छ । विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“भेडापालन व्यवसायमा धेरै समस्या छन्” उहाँले भन्नुभयो, “लेकाली भेगमा गरिने पेशा भएकाले दु:ख धेरै छ । त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ । विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जङ्गली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ ।” ऊन बिक्री हुन छाडेपनि भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ । भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो । भेडाको मासु प्रतिकेजी रु एक हजार पाँच सयदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना रु दुई हजारमा बिक्री हुने उहाँले बताउनुभयो ।

भेडाको चार–पाँच महिनाको बोका रु १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुने उहाँको भनाइ छ । भेडाको बोकाको भने धेरै माग हुने उहाँले बताउनुभयो । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेशा नै सङ्कटमा पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।