४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

भाद्र कृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड-फोटो फिचर

भाद्र कृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड-फोटो फिचर
अ+ अ-

काठमाडौँ: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानदेखि सुन्दरीजल–जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । गोकर्णेश्वर महादेव मन्दिर प्रवेश गर्ने सुन्दरीजलतर्फको नाकामा चौतारा माइती नेपाल चोक, जोरपाटी प्रवेश गर्ने नाकामा नेपाल मेडिकल कलेज चोक, माकालबारी प्रवेश गर्ने बागमतीको सानोपुल र आरुबारी प्रवेश गर्ने पानी खोल्सामा सवारी रोकिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएको गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यहाँ भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिनुभयो ।

गोकर्णेश्वरमा आएका भक्तजनले भने धार्मिक रूपमा महत्वपूर्ण भए पनि गोकर्णेश्वरमा व्यवस्थापन राम्रो नहुँदा दुःख पाएकोे बताउँछन् । रसुवाबाट आएका दर्शनार्थी धर्मचन्द्र पौडेल गाडीको असुविधाले यहाँ आउन दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,” उहाँले भन्नुभयो ।

मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहापाएको धेरै भक्तजन बताउँछन् ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र आफ्ना पिता दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पाल्साङ लामाले बताउनुभयो ।

बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वाससमेत रहेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजाआराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । यसै मान्यताका कारण आज कतिपय भक्तजन गोकर्णेश्वरपछि पशुपतिनाथको दर्शनमा जाने गर्छन् । पशुपतिनाथमा बढी भीड लाग्ने हरितालिका (तीज), बाला चतुर्दशी, शिवरात्रि, साउने सोमबारलगायत पर्वमा पनि पशुपतिनाथको दर्शन गरेर गोकर्णेश्वरको दर्शन गर्न आउने भक्तजन उल्लेख्य हुने गरेका छन् ।

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरुप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आजै मनाइँदैछ ।रासस

तस्बिर : हरिराम भेटुवाल / रासस