काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन् ।
उनले ११ गतेको संसद् बैठकमा धर्ममा विश्वास नगर्ने प्रचण्डले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका छन् । उनले भने, ‘पूर्वप्रधानमन्त्रीले नेपाल बंगलादेश होला भन्ने अभिव्यक्ति दिएको सुनेँ । धर्म पापमा विश्वास नभएर श्राप दिएको त पक्कै होइन होला । तर्साउनु भएको होला । तर, वेटिङ प्रधानमन्त्रीलाई बंगलादेश हुन्छ भन्ने छुट छैन ।’
उत्तेजनाको राजनीति बिक्छ भनेर सबै त्यसैको पछि लागेको बताउदै उनले भने, ‘यत्रो वर्ष देश चलाएर आएका नेताले यत्रो महत्त्वपूर्ण दलले ख्याल गर्नुपर्छ भने उ सरकारको मात्र अपोजीसन हो । यो सिस्टमको भाग हो । क्षणिक कुरा पुरा गर्न र अन्तर्विरोधमा खेल्न यति धेरै बरालिनु हुन्न कि आफैँले लगाएको आगोले आफैलाई जलाउँछ ।’











