• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

जय शाह आईसीसीको अध्यक्ष बन्न सक्ने



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आगामी अध्यक्ष बन्न सक्नेछन् । उनको दाबी बलियो मानिएको छ ।

आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । बार्कले मंगलबार उनी तेस्रो कार्यकालका लागि दाबेदार नरहने प्रस्ट पारेका छन् ।

यसपछि बीसीसीआई सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा बढेको छ । तर, यसबारेमा बीसीसीआई र जय शाहको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

आईसीसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले आफू तेस्रो कार्यकालका लागि उम्मेदवार नहुने र नोभेम्बरको अन्त्यमा आफ्नो वर्तमान कार्यकालको अन्त्यमा राजीनामा दिने कुरा पुष्टि गरेका छन् ।’

आईसीसी अध्यक्षको मनोनयनको अन्तिम मिति अगस्ट २७ रहेको छ । आईसीसी अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । न्युजिल्याण्डका बार्कले नोभेम्बर २०२० मा आईसीसीको अध्यक्ष भए । यसपछि उनी २०२२ मा यो पदमा पुनः निर्वाचित भए ।

आईसीसीको नियम अनुसार अध्यक्षको निर्वाचनमा १६ जना निर्देशकले मतदान गर्छन् । यस्तो अवस्थामा अध्यक्ष बन्न ९ मत चाहिन्छ । यसअघि अध्यक्ष बन्नका लागि दुई तिहाइ बहुमत आवश्यक थियो ।

बीसीसीआई सचिव पदमा शाहको कार्यकाल एक वर्ष बाँकी रहेकाले जय शाहलाई अध्यक्ष बनाउने चर्चा छ । बीसीसीआईको विधान अनुसार तीन वर्षको कुलिङ अफ पिरियडभन्दा पहिले एक अधिकारीले ६ वर्षसम्म पदमा बस्न सक्छ । कुल मिलाएर, एक व्यक्तिले राज्य संघमा नौ वर्ष र बीसीसीआईमा नौ वर्ष समावेश गरी कुल १८ वर्षसम्म पदमा रहन सक्छ ।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआई सचिव बने । त्यसपछि उनी २०२२ मा फेरि बीसीसीआई सचिवमा निर्वाचित भए । बीसीसीआईको नियम अनुसार २०२५ मा वर्तमान कार्यकाल पूरा गरेपछि उनले कुलिङ अफ पिरियडबाट गुज्रनुपर्नेछ ।

जय शाह हाल आईसीसीको वित्त तथा वाणिज्य उपसमितिका अध्यक्ष छन् । यससँगै अधिकांश १६ जना मतदातासँग उनको राम्रो सम्बन्ध छ ।

हालसम्म ४ जना भारतीयले आईसीसी प्रमुखको पद सम्हालिसकेका छन् । जगमोहन डालमिया सन् १९९७ देखि २००० सम्म आईसीसी अध्यक्ष थिए । शरद पवार सन् २०१० देखि २०१२ सम्म थिए । २०१४–१५ मा एन श्रीनिवासन र शशांक मनोहर २०१५–२० सम्म आईसीसी अध्यक्ष थिए । २०१५ भन्दा पहिले, आईसीसी प्रमुखलाई चिफ अफ प्रेसिडेन्ट भनिन्थ्यो । त्यसपछि यसलाई चेयरम्यान भनिन थालियो ।